
खोटाङमा आँखाका बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थासम्म जाने वातावरण निर्माण गर्न धामी झाँक्रीलाई तालिम दिइएको छ ।
झारफुक गर्न धामी झाँक्री कहाँ पुग्ने आँखाका बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्ने/पुर्याउने वातावरण निर्माण गर्न नेपाल नेत्र ज्योति संघको समन्वयमा सगरमाथा चौधरी आँखा अस्पताल, लहानले तालिम दिएको हो ।
झारफुक गर्न आएका आँखाका समस्या भएका बिरामीलाई स्वास्थ्य संस्था वा विशेषज्ञ चिकित्सक कहाँ गएर उपचार गराउन आग्रह गर्न/गराउन तालिमको आयोजना गरिएको संघका अध्यक्ष इन्द्र कसजुले बताए ।
‘गाउँघरमा अझै पनि धामी झाँक्रीकै विश्वास गरिन्छ । बिरामीको पहिलो सम्पर्क व्यक्ति धामी झाँक्री नै हो,’ उनले भने, ‘बिरामीलाई झारफुक मात्र नभएर स्वास्थ्य संस्थामा पठाउन सहयोग गर्न धामी झाँक्रीलाई तालिम दिएका हौँ ।’
दिक्तेलस्थित आँखा उचार केन्द्रमा आयोजना गरिएको सो तालिममा २८ तथा हलेसीमा ३५ धामी झाँक्री सहभागी थिए । आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख हरिहर श्रेष्ठले सो तालिमको सहजीकरण गरेका थिए ।
खोटाङमा ४४ हजारभन्दा बढी आँखाका बिरामी रहेको संघले जनाएको छ । तथ्यांकअनुसार जन्मजात दृष्टिदोष, बालअन्धोपन, मोतियाबिन्दु, जलबिन्दु, खस्रेरोग, भिटामिन ए को कमी, रतन्धोलगायत समस्या उनीहरूमा देखिएको छ ।