
तस्करहरूले अवैध सामान एक ठाउँबाट अर्काे ठाउँसम्म पुर्याउन अनेक तरिका अपनाउँछन् । नयाँ–नयाँ उपाय निकालेर अवैध वस्तु लुकाउँछन् ।
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन मुछिएको ड्रग्स तस्करी मुद्दामा स्यानेटरी प्याडभित्र लुकाएर ड्रग्स तस्करी भइरहेको खुलासा भएको छ ।
मुम्बईबाट गोवा गइरहेको क्रूजमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को टोलीले छापा हानेर ड्रग्स तस्कर समूहको भण्डाफोर गरेको छ । जसमा शाहरुखका छोरा आर्यनसहित ९ जना पक्राउ परेका छन् ।
तस्कर समूहकी नूपूर सारिकाले स्यानेटरी प्याडभित्र ड्रग्स लुकाएको फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी नयाँदिल्लीमा प्राथमिक तहको विद्यालयमा पढाउने गर्थिन् ।
पक्राउ परेकी मुनमुन धमेचा पनि ड्रग्स तस्करीमा संलग्न रहेकी जनाइएको छ । उनी मोडल हुन् । प्रहरीले छापा हानेर सबै आरोपीलाई पक्राउ गरेको छ ।