३० असार २०८३, मंगलबार

सत्ता गठबन्धनमा मिल्यो मन्त्रालयको भागबण्डा, ८५ दिनपछि मन्त्रिपरिषद् विस्तारको तयारी

सत्ता गठबन्धनमा मिल्यो मन्त्रालयको भागबण्डा, ८५ दिनपछि मन्त्रिपरिषद् विस्तारको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको ८५ दिनपछि सत्तारुढ गठबन्धनबीच मन्त्रालयमा भागबण्डा मिलेको छ । 

नेपाली कांग्रेसले ७ तथा गठबन्धनका अन्य दलले ५/५ मन्त्रालय लिने गरी सहमति भएको बालुवाटार स्रोतले बतायो । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्रालय भागबण्डामा सहमति जुटाएको हो । सहमतिसँगै आजभोलिमै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ । 

‘अब कुनै बहानाबाजीले मन्त्रिपरिषद् विस्तार रोकिँदैन,’ मन्त्रालय भागबण्डा मिलाउन गठित कार्यदलका एक सदस्यले भने । यसअघि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले एउटै मन्त्रालयमा दाबी गरेपछि भागबण्डामा कुरा मिलेको थिएन । 

स्रोतका अनुसार भौतिक पूर्वाधार मन्त्रालय जसपाले पाउने भएको छ । शिक्षा तथा विज्ञान प्रविधि र वन मन्त्रालय पनि जसपाले पाउने सहमति भएको जसपा स्रोतले बतायो । 

नेकपा (एस)ले भने शहरी विकास, उद्योग वाणिज्य तथा आपूर्ति र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पाउने तय भएको छ । माओवादी केन्द्रले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खानेपानी मन्त्रालय पाउने भएको छ । 

माओवादीले अर्थ र ऊर्जा मन्त्रालय यसअघि नै पाइसकेको छ । गृह, परराष्ट्र र कानून मन्त्रालय पाएको कांग्रेसले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने मोटामोटी सहमति भएको छ । 

दलहरूले मन्त्रीको नाम दिएलगत्तै प्रधानमन्त्री देउवाले राष्ट्रपतिलाई मन्त्रिपरिषद् विस्तारका लागि सिफारिश गर्ने बालुवाटार स्रोतले बतायो । सकेसम्म बुधवार र ढिलोमा शुक्रवारसम्म मन्त्रीहरूलाई शपथ गराएर सरकारलाई पूर्णता दिने तयारी भएको नेताहरूले बताएका छन् । 

सरकारका प्रवक्तासमेत रहेका कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भरे भोलिमै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए । मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशले भागबण्डा खोजेको कुरा गलत भएको बताएका छन् । 

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमवार नै मन्त्रिपरिषद् विस्तारको तयारी भएको बताएका थिए । प्रधानमन्त्री देउवाले असार ३१ गते शपथ गरेर सानो आकारको मन्त्रिमण्डल बनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्