
चाडपर्व नजिकिएसँगै बागलुङमा उपभोग्य वस्तुको मूल्य वृद्धि हुन थालेको छ । बागलुङमा सरकारले तोकेको नुन, चिनीको मूल्यभन्दा निकै महङ्गोमा खरिद बिक्री भएको उपभोक्ताले गुनासो गरेका छन् । सरकारले तोकेको चिनीको मूल्य रु ७९ र नुनको मूल्य रु १८ छ तर एक किलो चिनीमै रु १६ र नुनमा रु सात बढी मूल्य उपभोक्ताले तिर्दै आएका छन् । अहिले बजारमा भने उपभोक्ताले चिनीको रु ९५ र नुनको रु २५ दिँदै आएका छन् ।
चाडबाडको समयमा सस्तो मूल्यमा नुन, चिनी बिक्री गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय बागलुङले समयमै नुन, चिनी बिक्री नगर्दा उपभोक्ता झनै मर्कामा परेका छन् । कर्पोरेशनले समयमै चिनी ढुवानी नगर्दा उपभोक्ताले चर्को मूल्यमा चिनी खरिद गर्दै आएका छन् । अहिले बजारमा चिनीको मूल्य प्रतिकेजी रु १०० छ । चाडबाड नजिकिए कर्पोरेशनको डिपो कार्यालय बागलुङले नुन, चिनी वितरण गर्ने सुरसार नै गरेको छैन ।