
गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न र विधिको शासन स्थापनार्थ नेपाल प्रहरीको भूमिका अतुलनीय रहेको बताएका छन् ।
६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधवार आयोजित कार्यक्रममा गृहमन्त्री खाणले ऊर्जाशील जीवनको अतुलनीय समय प्रहरीमा रहेर राष्ट्रियता, विधिको शासन र शान्ति सुरक्षा स्थापनार्थ लागि पर्नेहरूको प्रशंशा गरे ।
सरकारले नीतिगत निर्णय गर्दा हुने विरोधमा सबैभन्दा पहिला विरोधीको निसानामा ड्युटीमा रहेको बर्दीधारी प्रहरी पर्ने भन्दै उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनालाई कसरी आधुनिकीकरण गरेर समय सापेक्ष बनाउने भन्नेमा सरकार गम्भीर रहेको बताए ।
उनले जनताको जीवन रक्षा राज्यको पहिलो दायित्व रहेको बताए । जनताको जीउधन र सुरक्षामा प्रहरीले अहिलेसम्म गरेको कामको प्रशंसा गर्दै उनले आगामी दिनमा यो भन्दा अझ राम्रो गर्ने विश्वास आफूलाई रहेको बताए ।
विश्वभर फैलिएको कोभिड–१९ महामारी, प्राकृतिक प्रकोप, बाढी, पहिरो डुबानलगायत विपदमा परेका नागरिकलाई आफ्नो जीवनको परवाह नगरी उद्धारमा खटिने प्रहरीको कार्य सराहनीय रहेको बताए ।
प्रहरी दिवसको अवसरमा यस वर्ष कर्तव्य पालनाको सिलसिलामा 'अमरत्व' प्रदान गर्ने ३३ प्रहरीका परिवारलाई सम्मान गरिएको प्रहरीले जनाएको छ । ती मध्ये ७ जनालाई काठमाडौंबाट र अन्य २६ जनालाई विभिन्न प्रदेशमा प्रहरीले सम्मान गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट पूर्वप्रहरी सहायक निरीक्षक चैतमाया डंगोललाई सम्मान गरे ।