
सानो ढुंगा पनि नदीमा फाल्यो भने डुब्छ । तर ७ किलोको ढुंगो नदीमा नडुबेर माथि नै तैरिएको घटना पत्याउन गाह्रो पर्छ ।
भारतको गुजरातस्थित वडोदराको देरोली गाउँ भएर बग्ने नर्मदा नदीमा ढुंगा तैरिएको अचम्म भएको छ । नदीमा माछा मारिरहेका एक जना माझीले ढुंगा देखेपछि घरमा लगेर गाउँलेलाई देखाउँदा सबै चकित परेका छन् । घरमा बाल्टी र अन्य भाँडोमा पानी राखेर ढुंगा डुबाउन खोज्दा समेत डुबेन ।
केही स्थानीयले ढुंगा रामसेतुबाट छुट्टिएर आएको हुनसक्ने अनुमान गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
तर वैज्ञानिकका अनुसार नदीमा ढुंगा तैरिनु सामान्य घटना भएको बताएका छन् । एमएस विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक केसी तिवारीका अनुसार केही ढुंगा नदीमा तैरिने खालका हुन्छन् । केही कोरल्स ढुंगा, चुन ढुंगा र ज्वालामुखीबाट निस्किएका ढुंगा नदीमा तैरिने खालका हुन्छन् । ‘ती ढुंगामा तौल त हुन्छ तर डेन्सिटी हुँदैन,’ उनले भने, ‘केही ढुंगामा भएका प्वालमा हावा भरिएर पनि तैरिने गरेका हुन्छन् । यो कुनै अचम्मको कुरा होइन ।’