
बागमती प्रदेश सरकारले आगामी २४ गते प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेले जानकारी दिए ।
शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै गत भदौ ११ गते शुक्रबार प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरिएको थियो । प्रदेशमा एकल बहुमत रहेको एमाले विभाजन भएर १३ जना प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेसँगै अष्टलक्ष्मी नेतृत्वको सरकार अल्पमत परेको थियो ।