
प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक (इन्सपेक्टर) त्रिभुवन थापासहित २४ जना प्रहरी तानिएका छन् ।
काम चित्तबुझ्दो नभएको भन्दै महानगरीय प्रहरी कार्यालय प्रमुख एआईजी हरि पालले पूरै टोली तानेका हुन् ।
उपत्यका भित्रिने मुख्य नाकामा नै प्रहरीको कमजोर कार्यसम्पादनका कारण तानिएको महानगरीय प्रहरी कार्यालय स्रोतले जनाएको छ ।
‘उनीहरूको कार्यसम्पादनमा शंका लागेपछि तानिएको हो,’ मेट्रोका एक उच्च अधिकारीले लोकान्तरसँग भने ।
थापालाई तानेर प्रहरी निरीक्षक निरु दुवालको नेतृत्वमा नयाँ टोली पठाइएको छ ।
बिहीवार नै प्रहरी प्रभाग गोंगबुका प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश विष्ट पनि तानिएका छन् । बसपार्क क्षेत्रको शान्ति सुरक्षामा सन्तोषजनक काम नगरेको भन्दै उनलाई पनि हटाइएको मेट्रोले जनाएको छ । गोंगबुमा सुमन न्यौपानेलाई जिम्मा दिइएको छ ।