
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रगतिशील लेखक खगेन्द्र संग्रौलाले नारायणमान विजुक्छें राजतन्त्रको पक्षमा उभिएको भनेर गरेको टिप्पणीप्रति सदनमा खेद व्यक्त गरेको छ ।
नेमकिपाको देशभक्तिपूर्ण अडानका कारण यस्तो आरोप लाग्ने गरेको सांसद प्रेम सुवालले दाबी गरे ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा सांसद सुवालले आफ्नो पार्टी राजतन्त्रको पक्षमा नभएको स्पष्ट गरेका हुन् ।
‘राजतन्त्रबारे नेपाल मजदुर किसान पार्टीको स्पष्ट विचार छ, सानो उमेरमा लगाएको लुगा अहिले ठीक हुँदैन । राजतन्त्र यस्तै हो । विभिन्न देशमा राजाले जनतासँग मिलेर साम्राज्यवादसँग संघर्ष गरेका थिए, तर पनि नेपालमा राजतन्त्रको औचित्यता समाप्त भइसकेको छ,’ सुवालले भने, ‘केही तथाकथित बुद्धिजीवीले नेमकिपा राजतन्त्रको पुनःस्थापनाको पक्षमा भनेर लेखेको देखियो । खगेन्द्र संग्रौला जस्तो लेखक साहित्यकार र विश्लेषक दाबी गरेकाले विजुक्छें राजतन्त्र पुनःस्थापनाको पक्षमा भनी गलत टिप्पणी गरेको हुँदा उहाँको बौद्धिक स्खलनप्रति हामीलाई खेद लाग्यो ।’
सुवालले नेमकिपाको देशभक्तिको विरोधीले आरोप लगाए पनि आफ्नो पार्टीले अडान नछाड्ने सुवालले बताए । ‘हाम्रो पार्टीले कालापानी फिर्ता गर्न सरकारलाई ध्यानाकर्षण गर्दैछ भनेर केही आक्रोशित भएको देखिन्छ,’ सुवालले भने ।