
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उक्त पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन् ।
बिहान ११ बजे पार्टी कार्यालयमा छलफल र निर्देशनको लागि अध्यक्षले बोलाएको नेपालका प्रेस संयोजक मोहन गौतमले जानकारी दिए ।
‘आन्तरिक छलफल र निर्देशनका लागि मन्त्रीहरूलाई अध्यक्षले बोलाउनुभएको हो । उहाँहरूलाई ११ बजे पार्टी कार्यालयमा आउन भनिएको छ’, गौतमले भने ।
एकीकृत समाजवादीबाट स्वास्थ्य मन्त्रीमा विरोध खतिवडा, शहरी विकास मन्त्रीमा रामकुमारी झाँक्री, पर्यटन मन्त्रीमा प्रेम आले र श्रम मन्त्रीमा कृष्णकुमार (किसन) श्रेष्ठले जिम्मेवारी पाएका छन् ।
यस्तै स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले शनिवार काभ्रेमा जिल्ला कमिटीको कार्यालय उद्घाटन गर्दै जनपक्षीय काम नगर्ने मन्त्रीलाई जिम्मेवारीबाट हटाइने बताएका थिए ।