
आइतबार रूपन्देहीको मोतिपुरमा भएको झडपमा परी घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका चार जवानलाई उपचारका लागि काठमाडौँ लगिएको छ । सुकुम्बासीका नाममा समूह बनाएर घरटहरा बनाएकासँगको दोहोरो झडपमा परी सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणसहित ७४ जना घाइते भएका हुन् । झडपमा परी गम्भीर घाइते भएका नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुई जना गरी चार जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षीय प्रहरी जवान जयप्रकाश थारु र दङ्गा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगरलाई उपचारका लागि काठमाडौँ पठाइएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षीय जवान खुसीराम चौधरीलाई काठमाडौँ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।