३० जेठ २०८३, शनिबार

कोरोना प्रभावितलाई उद्यमी बनाउन नगरपालिकाको अनुदान सहयोग

असोज २८, २०७८
कोरोना प्रभावितलाई उद्यमी बनाउन नगरपालिकाको अनुदान सहयोग
प्रतिकात्मक तस्वीर

कोरोनाको संक्रमणका कारण रोजगारी गुमाएका स्याङ्जाको वालिङका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ ।

रोजगारी गुमाएका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’ का रूपमा २० जनालाई जनही ५० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको वालिङ नगरपालिका नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए ।

यसअघि पनि गत वर्ष २० जनालाई ५० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराएको थियो ।

कोरोना संक्रमणका कारण प्रभावित भई स्वदेश वा विदेशमा रोजगारी गुमाएका वालिङका नागरिकलाई उद्यमशिलतातर्फ लाग्न प्रेरित गर्ने मुख्य उद्देश्यले कोष स्थापना गरिएको र सोही कोषमार्फत सहयोग गर्दै जाने प्रमुख खाँणले बताए ।

नगरपालिकाले व्यवसाय वा उद्यम गर्न चाहने नागरिकले नगरपालिकामा आर्थिक सहयोग माग गरेका आधारमा सहयोग गर्ने नीति बनाई कार्यान्वयनमा ल्याएको छ । विशेष गरी उत्पादन तथा नवप्रवर्तनको सोच राखेका युवायुवतीलाई कोषमार्फत अनुदान उपलब्ध गराउने भएको हो ।

विदेशमा रोजगारी गुमाई फर्केका वा स्वदेशमा रोजगारीमा रहेका युवा युवतीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाई उनीहरुको आयआर्जन वृद्धि गर्न ‘उद्यमशिलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र सञ्चालन कार्यविधि २०७७’ निर्माण गरी सोही कार्यविधिका आधारमा रहेर स्थापित कोषबाट आर्थिक सहयोग गरिने प्रमुख खाँणको भनाइ थियो ।

कोरोना भाइरस प्रभावित भई के गर्ने के नगर्ने अन्योलमा रहेका युवालाई उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’ कारुपमा गत वर्षदेखि नगद अनुदान दिन थालिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताइन् ।

व्यवसाय तथा उद्यम सञ्चालनका लागि युवामा भएको रचनात्मकतालाई उजागर तथा प्रोत्साहित गर्न प्रेरित गर्ने उद्देश्यले कोष स्थापना गरी सञ्चालन गरिएको अध्यक्ष तिवारीले जानकारी दिइन् । कोषमार्फत विशेष राहत प्याकेज उपलब्ध गराइ युवालाई उद्यमी बनाइने भएको हो ।

कोरोना संक्रमणका कारण बेरोजगारी समस्या बढ्दै गएकाले यसमा कमी ल्याइ उनीहरूलाई उद्यमी बनाइ आत्मनिर्भर बनाउने मुख्य उद्देश्य रहेकोले कोषमार्फत सहयोग गर्ने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्