
नेपालीहरूको महान् चाड बडादशैंको दशौं अर्थात् मुख्य दिन भोलि शुक्रवार आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाउने प्रभावशाली समय तोकिएको छ ।
शुक्रवार बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
विजयादशमीका दिन शुक्रवार दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १०ः०२ बजेको दिइएको उनले बताए ।
‘अत्यावश्यक परेकाले देवी विसर्जन गरेपछि टीका लगाउन हुन्छ, १०ः०२ बजेको साइत नै कुर्नुपर्दैन, देवी विसर्जनसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन हुन्छ,’ अध्यक्ष अधिकारीले भने ।
समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाउने गरी तयारी गर्न समितिले आह्वान गरेको छ । नसक्नेका लागि विजयादशमीको दिन बिहानदेखि अखिल बलिपूर्तिका लागि पूजा गरेका सबै सामग्री नसेलाएसम्म टीका लगाउन कुनै समस्या छैन ।
विदेशबाट आउनेका लागि भने अखिल बलि पूर्ति गरेपछि पनि प्रसाद बाँकी राखेर कोजाग्रत पूर्णिमाका दिनसम्म पनि टीका लगाइदिन सकिने जनाइएको छ । विजयादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ ।
लगाइदिने मानिस पश्चिम फर्कंदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ ।
विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी ४ देवीको पूजा आराधना गरेर देवी विसर्जन गरिन्छ । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेंलो जमरा नै प्रयोग गरिन्छ ।
घटस्थापनाका दिन राखिएको जमरा शुक्रवार नवदुर्गाको प्रसादका रूपमा लगाइन्छ । घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने दशमीकै दिन सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा बसेको शास्त्रीय प्रमाण रहेको छ । यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा घटस्थापनादेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दशैंघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गरेपछि त्यसको प्रसाद कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म लगाइन्छ ।