
कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न यतिबेला भारतमा खोप अभियान नै सञ्चालन भएको छ । विश्वका अधिकांश देशका नागरिकले खोपको प्रतीक्षा समेत गरिरहेका छन् ।
भारतको राजस्थानमा भने महिलाले खोप लगाउन घरमै आएका चिकित्सकलाई डराउन सर्प देखाएको घटना सार्वजनिक भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार खोप अभियान चलिरहेका बेला राजस्थानको अजमेर जिल्लास्थित पीसांगन उपखण्ड क्षेत्रकी महिला कमला देवीले खोप लगाउन चाहिनन् । तर सरकारी अधिकारीले खोप लगाउनैपर्ने आग्रह गरे ।
कमलालाई खोप लगाउने इच्छा नभएकाले उनले उपाय निकालिन् । आफूसँग भएको सर्प निकालेर कमलाले चिकित्सकलाई डराउन र धम्क्याउन खोजिन् । खोप लगाउन जबरजस्ती गरेमा सर्प शरीरमा फ्याँकिदिने धम्की समेत कमलाले दिइन् ।
चिकित्सकसँग वादविवाद चलिरहेका बेला त्यहाँ स्थानीयको भीड जुट्यो । अन्य स्थानीयले भने सहजै खोप लगाइरहेका थिए । पछि स्थानीयले सम्झाइबुझाइ गरेर कमलालाई पनि खोप लगाउन राजी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।