०४ साउन २०८३, सोमबार
'गाउँका सिंहदरबार'मा मौलाएको बेथिति

अनुदानमा दिइएको अढाई लाखको बोका जनप्रतिनिधिको मिलेमतोमा काटेर दशैं मनाएपछि...

कात्तिक १, २०७८
अनुदानमा दिइएको अढाई लाखको बोका जनप्रतिनिधिको मिलेमतोमा काटेर दशैं मनाएपछि...

बाख्रामा नश्ल सुधारका लागि पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले अनुदानमा दिएको बोका किसान र जनप्रतिनिधिले काटेर खाएका छन् । 

उत्पादन बढाउन अनुदानमा दिइएको बोका उनीहरूले असोज २८ गते अष्टमीको दिन काटेर खाएको पाइएको हो । 

दुई वर्ष अघि सुनवल नगरपालिकाले अष्ट्रेलियन प्रजातिको बोयर बोका अनुदानमा दिएको थियो । 

वडा नम्बर १३ का किसानहरूका लागि उन्नत प्रजातिको बीउ उत्पादन गर्ने भन्दै नगरपालिकको लगानीमा २ लाख ५८ हजार रूपैयाँको बोयर जातको बोकास्थानीय किसान गंगाराम गैरेलाई पाल्न दिइएको थियो । 

सुनवल नगरपालिकाका पशु विकास शाखा प्रमुख मिश्रीप्रसाद गिरीले बोका बिरामी भएकोले किसानले काटेको दाबी गरे । अनुुदानको बोका हटाउनको लागि कार्यविधि नगरपालिकासँग नहुँदा काट्न आफूहरूले अनुमति भने नदिएको गिरीले लोकान्तरलाई बताए । 

स्थानीय सरकारको ७० प्रतिशत र किसानको ३० प्रतिशत अनुदान कार्यक्रमअनुसार सुनवल नगरपालिकाको २ लाख ८० हजार र किसानको ७८ हजार रूपैयाँ लगानीमा सो बोका ल्याइएको हो । 

नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १३ का वडाध्यक्ष कृष्णप्रसाद देवकोटाले बोका पटक–पटक बिरामी भएपछि किसानले आफूहरूलाई सोधेर काटेको बताए । 

‘बोका ७८ केजीसम्म पुुगेको थियो,’ प्रवक्ता देवकोटाले लोकान्तरसँग भने, ‘बोका पालेका किसान गैरेले बोयर प्रजातिको अर्को बोका दिने शर्तमा काटेका हुन् । विषय सानो हो तर ठूलो बनाइयो ।’

बोका पालक किसन गैरेले बोका काटेर मासु बिक्री गरेको बताए ।  आफूलाई कृषि पेशाबाट पशुपालनबाट असफल बनाउन अनावश्यक प्रचार गरिएको उनी बताउँछन् । 

‘बोका केही समय पहिलेदेखि बिरामी परेर काम गर्न नसक्ने अवस्थामा आएपछि नगरपालिका र जनप्रतिनिधिहरूको सल्लाहमा बोका काटेर मासु बेचिएको हो,’ किसान गैरेले लोकान्तरसँग भने । गैरेले बोकाको मासु प्रतिकिलो ९०० का दरले बेचेका थिए । 

सरकारी सम्पत्ति हिनामिना गरेको भन्दै दोषीलाई कारवाहीका लागि स्थानीयवासीले नगरपालिकामा दबाब दिएका छन् । नगरपालिकाले महँगो मूल्य तिरेर ल्याइएको बोका स्थानीय जनप्रतिनिधि तथा केही राजनीतिक पार्टीका नेताहरूको मिलेमतोमा काटेर मासु खाएपछि स्थानीयस्तरमा विरोध भएको सुनवल नगरपालिका–१३ का स्थानीय सूर्य न्यौपानेले बताए । 

सरकारी सम्पत्ति हिनामिना गरेको भन्दै सुनवल नगरपालिकाका केही युवाले नगरपालिकाको न्यायिक समितिमा दोषीलाई कारवाहीको माग गर्दै निवेदन समेत दर्ता गरेको सुनवल नगरपालिकाका स्थानीय दीपक रानाले बताए । 

लुम्बिनी प्रदेश कृषि मन्त्रालयका पशु विकास अधिकृत हुमाकान्त पाण्डेले भने सरकारी अनुदानमा दिइएको बोका यसरी मौखिक सहमतिमा मात्र बिक्री वितरण गर्न नपाइने बताए । 

नेपाल सरकारको लगानी रहेको कुनै सामान वा वस्तु बिक्री गर्नु परेमा टेन्डर आह्वान गरेर मात्र बिक्री वितरण गर्नुपर्ने उनको भनाइ छ । सरकारी अनुदानमा दिइएको बोका स्वास्थ्यका कारणले काम नलाग्ने भएको हो भने यो कुरा सम्बन्धित निकायका पशु डाक्टरले बोका अस्वस्थ रहेको भन्ने प्रमाणित गर्नुपर्ने उनी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्