
प्रदेश अस्पताल सुर्खेतले बिहान ७ बजेदेखि ९ बजेसम्म विशेषज्ञ सेवा शुरू गरेको छ ।
बिरामीलाई सहज र सरल सेवा पुर्याउने उद्देश्यले अस्पतालले आजदेखि विशेषज्ञ चिकित्सकबाट बिहानी सेवा दिन थालेको हो ।
अस्पतालले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म ओपीडी सेवा सञ्चालन गर्दै आएको छ ।
अस्पतालका निर्देशक डा. डम्बर खड्काले शनिवारबाहेक हरेक दिन बिहान ७ बजेदेखि नै विशेषज्ञ सेवा सञ्चालन हुने बताए ।
उनका अनुसार यो समयमा बालरोग, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति, हाडजोर्नी तथा नशा, नाक, कान, घाँटी, छाला, यौन र मानसिक रोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिनेछ ।
क्याबिनमा बसेर तत्काल सर्जरी सेवा लिन चाहेमा ५० प्रतिशत अतिरिक्त शुल्क तिरेर सेवा लिन सकिने अस्पतालले जनाएको छ । अस्पतालले विशेषज्ञ सेवाका लागि ४०० रूपैयाँ शुल्क तोकेको छ । प्रदेश अस्पतालको यो निर्णयले सरकारी चिकित्सकलाई निजी अस्पताल तथा क्लिनिकमा बढी समय बिताउने समस्या रोकिने भएको छ ।