मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ ।
ग्लास्गोमा अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तनसम्बन्धी २६औं सम्मेलन हुँदैछ ।
मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले साफ च्याम्पियनसीप प्रतियोगितमा उपविजेता भएका नेपाली फूटबल टीमका खेलाडीलाई जनही ५ लाख र प्रशिक्षकलाई ३ लाखका दरले प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकले मोहम्मद जयन्ती (१४९६) का अवसरमा कात्तिक २ गते मुस्लिम सुमुदायलाई सार्वजनिक बिदा दिने र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संंशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
अबुधाबी डाइलगको छैटौं मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृति दिने र लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम राजपत्रांकित प्रथम श्रेणीका विभिन्न पदहरूमा नियुक्त गर्ने निर्णय भएको उनले बताए ।
बैठकले विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्जवनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी गराए ।