
ढोरपाटन शिकार आरक्षमा यस वर्षको पहिलो शिकार याम शुरू भएको छ । आजदेखि जंगली जनावर नाउर र झारल शिकार गर्न खुल्ला गरिएको शिकार आरक्ष कार्यालयले जनाएको छ ।
नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटनमा अनुमति लिएर शिकार गर्न विदेशका व्यावसायिक शिकारी ढोरपाटन आउने गर्दछन् । आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन शिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र शिकारीका भरियाको बन्दोबस्ती मिलाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो शिकारयामका लागि १० नाउर र ६ झारलको शिकार अनुमति दिएको छ । सोही अनुसार विदेशी शिकारी आरक्ष क्षेत्रमा पुगेका हुन् । आगामी कात्तिक २ गतेदेखि मङ्सिरसम्म शिकार पर्यटन जारी रहनेछ । विभागले हरेक वर्ष दुई याम गरी वार्षिक २० नाउर र ११ झारलको शिकार गर्न अनुमति दिने गर्छ ।
ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ फिटर र ट्रयाक एन्ड टे«ल्स कम्पनीमार्फत फ्रेन्च, युक्रेन, मेक्सिकन र रुसी शिकारीले नाउर र झारल शिकारका लागि अनुमति पाएका छन् ।
पहिलो याममा सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा शिकार हुनेछ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा शिकार हुँदै आएको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए ।
पेसेवर विदेशी शिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत शिकार खेल्न आरक्षमा पुग्ने गर्छन् । गत वर्ष दुई याममा १८ नाउर र नौ झारलको शिकार भएको थियो ।
आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी सात ‘ब्लक’ मा शिकार खेल्न अनुमति दिने गरिएको छ । खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’ मा शिकार खेल्न रुचि राख्छन् । शिकारीसहितको टोलीले १५ दिन जंगलमै समय बिताउँछन् ।
सो विभागले हरेक शिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।
नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एकजना शिकारीले करिब २० देखि २२ लाख खर्च गर्ने शिकार पर्यटन व्यवसायी अमृत थापाले जानकारी दिए ।
शिकार पर्यटनलाई पनि कोरोनाले असर गरेको छ । नेपालमा कोरोनाको त्रासले गर्दा विगतमा जस्तो प्रतिस्पर्धा नभएको र जति धेरै शिकारीको आउने इच्छा गर्दछन्, त्यति नै राजश्व संकलन हुने उनले बताए ।