भारत र चीनको सीमाका रूपमा रहेको वास्तविक नियन्त्रण रेखामा तनाव जारी छ ।
यसैबीच चीनले सीमामा १०० भन्दा बढी अत्याधुनिक रकेट लोन्चर तैनाथ गरेको छ । त्यसबाहेक चिनियाँ सेनाले १५५ एमएम क्यालिबरको पीसीएल–१८१ सेल्फ प्रोपेल्ड होवित्जर पनि तैनाथ गरेको छ ।
शिशिर ऋतुमा पनि सेनालाई सीमामा तैनाथ गर्ने उद्देश्य चीनले लिएको देखिन्छ ।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभीको समाचार अनुसार, रकेट लोन्चरका १० वटा युनिटहरू लद्दाख नजिक तैनाथ गरिएको छ । प्रत्येक युनिटमा चारवटा क्रु मेम्बर छन् ।
ती उपकरणमा ३०० एमएमको १२ वटा लोन्चर ट्युब छन् । त्यसका रकेटहरू ६५० किलोमिटर दूरीसम्म आक्रमण गर्न सक्षम छन् । यसका १२ मिटर लामा रकेटहरू ६० किलोमिटर प्रतिघन्टाको गतिमा उडान भर्न सक्छन् ।
भारतीय सेनाले पनि दक्षिण कोरियाली प्रविधिमा आधारित के–९ वज्र सेल्फ प्रोपेल्ड होवित्जर लद्दाखमा तैनाथ गरेको छ । यो भारतीय सेनाको पहिलो सेल्फ प्रोपेल्ड हतियार हो । यसलाई बोक्नका लागि अर्को वाहन आवश्यक छैन र आफैं एक ठाउँबाट अर्को ठाउँ जान्छ ।
यस तोपले ३० सेकेन्डमा तीनवटा गोला प्रहार गर्न सक्छ । यसको रेन्ज ३८ किलोमिटरसम्म छ ।