
आइतबार रातिदेखि परेको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन् भने १०० घर उच्च जोखिममा परेका छन् । सर्केगाड गाउँपालिका–१ को जैरमा छ घर भत्किएर पूर्ण क्षति भएको छ भने १० घरमा आंशिक क्षति गरेको वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए ।
सोही गाउँपालिकाको वडा नं २ को रिपगाउँमा अविरल वर्षाले एक घर भत्किएको छ भने लाखौँको क्षति भएको छ । यता सर्केगाड गाउँपालिका–४ साँयामा ११ घरमा क्षति गरेको बताइएको छ । अदानचुली गाउँपालिका–१ कल्खेमा तीनवटा घरमा पहिरोले क्षति गरेको छ । वर्षाका कारण वडा नं १ दशरथ महतारा, धनलाल भियाल र मानबहादुर महाताराको गरी तीनवटा घरमा क्षति गरेको बताइएको छ ।
यस्तै हुम्लाका विभिन्न स्थानीय तहमा रहेका १०० घर पहिराको उच्च जोखिममा छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका–२ को थालीमा रहेका ५० घर पहिराको उच्च जोखिममा रहेको स्थानीय तारावीर रावलले जानकारी दिए।
यसैगरी जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–४ लौठीमा ३० घरपरिवार पहिरोको उच्चमा परेका छन् । यस्तै अदानचुली–२ खलेसेरा गाउँका २० घर पहिराको जोखिममा परेका छन् ।