
गृहमन्त्री बालकृष्ण खाँणलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले आज भेट गरी सुदूरपश्चिम प्रदेशमा चार दिनदेखिको बाढी पहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले उक्त क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ ।
सुदूरपश्चिम प्रदेशका मन्त्री दीर्घ सोडारी, सांसद शेरबहादुर कुवँर, पूर्वसांसद हर्कबहादुर सिंह, पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी तथा नागरिक समाजका प्रतिनिधि सूर्य श्रेष्ठ, रमण श्रेष्ठ, वीरेन्द्र भण्डारी, धनबहादुर ओलीलगायतले भेट गरी सुदूरपश्चिम प्रदेशमा बाढी–पहिराले ठूलो क्षति गरेका कारण राहत तथा उद्धारका लागि तत्कालै राज्यका सबै निकायलाई परिचालन गर्न माग गरेका हुन् ।
यसैगरी उक्त टोलीले बाढी–पहिराले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बझाङ, अछाम, बाजुरा, बैतडी तथा डोटीमा अहिले पनि नागरिक अलपत्र परेका तथा कतिपयका घरबारविहीन भएर बास बस्नका लागि पनि समस्यामा परेकाले स्थलमार्गबाट उद्धार हुन नसकेकाले हवाई मार्गबाट जतिसक्दो चाँडो उद्धारका लागि पहल गर्न माग गरेका छन् ।