२२ जेठ २०८३, शुक्रबार

एमालेको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि र विभिन्न तहका कमिटीमा सदस्य हुन के चाहिन्छ योग्यता ?

कात्तिक ४, २०७८
एमालेको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि र विभिन्न तहका कमिटीमा सदस्य हुन के चाहिन्छ योग्यता ?
सांकेतिक तस्वीर

नेकपा एमालेले राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चुनिनका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य भएर काम गरेको हुनुपर्ने भएको छ ।

एमालेले दशौं महाधिवशेन आगामी मंसिर १० देखि १३ सम्म आयोजना गर्न लागेको छ । 

एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको विधानमा महाधिवेशन वा अधिवेशनको प्रतिनिधि हुन चाहिने योग्यता निर्धारण गरिएको छ ।

तर, राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चुनिनका लागि महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी–जनजाति र अपाङ्गता भएका व्यक्तिले भने सात वर्ष पार्टी सदस्य भई काम गरेको भए पुग्ने व्यवस्था विधानमा गरिएको छ ।

एमालेको विधानको धारा–६३ मा उम्मेदवार हुन आवश्यक योग्यता तोकिएको छ ।  

त्यसैगरी, केन्द्रीय कमिटीको पदाधिकारी र स्थायी कमिटी सदस्यका लागि उम्मेद्वार हुन केन्द्रीय कमिटीको सदस्य भई एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । 

केन्द्रीय कमिटी सदस्यको उम्मेद्वार हुन भने कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य वा प्रदेश कमिटीको सदस्य वा केन्द्रीय विभागको सदस्य वा जिल्ला कमिटीको पदाधिकारी वा जनसंगठनको केन्द्रीय पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था विधानमा गरिएको छ । 

तर, महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी–जनजाति र अपाङ्गता भएका व्यक्तिको हकमा भने एक कार्यकाल जिल्ला कमिटी वा सोभन्दा माथिल्लो कमिटीको सदस्य भई काम गरेको र सात वर्ष पार्टी सदस्य भई काम गरेको भए पुग्नेछ ।

केन्द्रीय अनुशासन आयोगको सदस्य हुन केन्द्रीय कमिटीको सदस्यको योग्यता पुगेको र पार्टी जीवनमा अनुशासनको कारबाहीमा नपरेको हुनुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी, अध्यक्ष हुनका लागि स्थायी कमिटी सदस्यको योग्यता पुगेको हुनुपर्नेछ ।

अनुशासन आयोगको अध्यक्षको मर्यादा स्थायी कमिटी सदस्यसरह हुने र उसले केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकमा भाग लिन पाउने तर, मताधिकार भने नहुने व्यवस्था एमालेको विधानमा गरिएको छ ।

केन्द्रीय लेखापरीक्षण आयोगको सदस्य हुन केन्द्रीय कमिटीको सदस्यको योग्यता पुगेको र आर्थिक प्रशासन तथा लेखापरीक्षणका विषयमा व्यवहारिक ज्ञान भएको हुनुपर्ने योग्यता तोकिएको छ ।  अध्यक्ष हुनका लागि स्थायी कमिटी सदस्यको योग्यता पुगेको हुनुपर्ने भनिएको छ । 

केन्द्रीय निर्वाचन आयोगको सदस्य हुन केन्द्रीय कमिटीको सदस्यको योग्यता पुगेको र निर्वाचनसम्बन्धी कानुनी र व्यवहारिक ज्ञान भएको हुनुपर्ने र अध्यक्ष हुनका लागि स्थायी कमिटी सदस्यको योग्यता पुगेको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ । 

केन्द्रीय सल्लाहकार परिषद्को सदस्य हुन केन्द्रीय कमिटीको सदस्यको योग्यता पुगेको वा पार्टी सदस्य भई कम्तीमा ३० बर्ष काम गरेको वा दर्शनशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, परराष्ट्र मामिला, कानून र विज्ञान प्रविधिजस्ता विषयको विज्ञ र १० वर्ष पार्टी सदस्य भई काम गरेको हुनुपर्नेछ । 

अध्यक्ष हुनका लागि स्थायी कमिटी सदस्यको योग्यता पुगेको हुनुपर्नेछ । विभागको सदस्य हुन एकतह तल्लो कार्यकारी कमिटीको सदस्य वा सम्बन्धित विषयको विज्ञ हुनुपर्नेछ । 

प्रदेश र जिल्ला कमिटी

नेकपा एमालेको प्रदेश कमिटीको सदस्य हुन कम्तीमा सात वर्ष पार्टी सदस्य भई काम गरेको र जिल्ला वा सोभन्दा माथिल्लो कमिटी वा विभागको सदस्य भई एक कार्यकाल काम गरेको हुनुपर्ने योग्यता तोकिएको छ । 

तर महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपाङ्गता भएका व्यक्तिको हकमा भने पार्टी सदस्य भई पाँच बर्ष काम गरेको र एक कार्यकाल जिल्ला कमिटी वा जनसंगठन वा विभागमा रही काम गरेको भए पुग्ने योग्यता विधानमा तोकिएको छ । 

जिल्ला र सो मातहतका कमिटी, निकाय वा विभागको पदाधिकारी तथा सदस्य पदका लागि उम्मेद्वार हुन सम्बन्धित अधिवेशनले तोकेबमोजिमको योग्यता हुनुपर्ने विधानमा भनिएको छ ।  

अन्य पार्टीबाट वा सामाजिक क्षेत्रमा विशिष्ट योगदान गरी पार्टीमा प्रवेश गरेका व्यक्तिको हकमा महाधिवेशन वा कुनै पनि तहको अधिवेशनमा प्रतिनिधि हुन वा कुनै पनि कमिटीको सदस्य पदका लागि उमेद्वार हुन पार्टी सदस्यताको अवधिसम्बन्धी व्यवस्था लागु नहुने गरी विधान संशोधन गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्