
ब्रह्मा, विष्णु र महेश्वर भगवान्को पूजाआराधना गरी टोलटोलमा रथ (खट) घुमाएर बिहीबार हाँडीगाउँको जात्रा मनाइएको छ ।
विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्ष बडादशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँको हाँडीगाउँमा मनाइँदै आएको छ ।
विश्वकर्माले बनाएका यी त्रिदेवको एकैपटक दर्शन र पूजाका साथै जात्राको दर्शन गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास रहेको स्थानीय कृष्णगोपाल श्रेष्ठ बताउँछन् । उनले कोजाग्रत पूर्णिमाको दिन मूर्तिहरू बाहिर निकालेपछि औपचारिक रूपमा जात्रा सुरु हुने बताए ।
श्रेष्ठका अनुसार, टङ्गाल गहनापोखरी आसपासको हाँडीगाउँको माथिल्लो टोल ठटालबाट ब्रह्माको रथ र बीच भागको डठु (न्याल्म) टोलबाट विष्णु (नारायण)को रथ तानेर तल्लो कोटाल टोलमा बनाइने महेश्वर (लक्ष्मी)को रथ रहेको ठाउँमा ल्याएपछि बुधबार मध्याह्न हाँडीगाउँको जात्रा सुरु भएको थियो ।
जात्राका दिन दर्शन र पूजाका लागि तीनवटै रथ तीनवटा भिन्न चोकमा राख्ने र घरघरबाट आएर पूजा गर्ने चलन छ । जात्राका पूर्वपुजारी कृष्णमोहन अमात्यले हाँडीगाउँको जात्रा अन्यत्रजस्तो नहुनुमा चारवटा कारण रहेको बताए । गोरखापत्र दैनिकमा यलु जोशीले खबर लेखेका छन् ।