

जुम्ला, ७ असार - रैथानेबाली उत्पादन, संरक्षण, प्रवद्र्धन र बजारीकरणका लागि चौथो स्थानीय खाद्य मेला सुरु भएको छ ।
‘चिनो कागुनो, फापर, मार्से, कोदो कालिमासी धान, खाने व्यवहार सुधार गरी आयात प्रतिस्थापन गर्ने हाम्रो अभियान’ नारासँगै मङ्गलबारदेखि मेला सुरु भएको हो । मेलाको उद्घाटन पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले स्थानीय मकै, कोदो र फापरबाट बनेको केक काटेर गर्नुभयो ।
महतले कर्णाली महत्वपूर्ण बालीको भण्डार भएको बताउनुभयो । उहाँले स्थानीय बालीलाई हेला गर्ने परिपार्टी र त्यसको अबमूल्यन गरिएका कारण कर्णाली परनिर्भरताको सिकार बनेको बताउनुभयो ।
नेकपा (एमाले)का जिल्ला सचिव आदिप्रसाद न्यौपानेले आयातित वस्तु हटाएर स्थानीय परिकार खानेबानी बसाल्नु पर्नेमा जोड दिनुभयो । “चिनो, कागुनो, कोदो, फापर सिमीबाटै बन्ने परिकारको खाजा बनाउनुपर्छ,” उहाँले भन्नुभयो । विद्यालयमा बिस्कुट, चाउचाउको सट्टा स्थानीय खाद्यबालीको प्रयोगले बनेका परिकारको खाजा खुवाउने परिपाटीका लागि अभियान थाल्नुपर्ने उहाँको भनाइ थियो ।
वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले नागरिकको आयस्तर बढोस् भन्ने ध्येयले मेलाको आयोजना गरिएको बताउनुभयो । मेला तीन दिनसम्म चल्ने छ । मेलामा फापरको लगड, चिनो, कागुनोको खीर, कोदाको सेल, फापरको भेज मःम, पिठो, केक, सिस्नुको धुलो, सिमी, घोडो मच्चो, जुम्मो, मार्सी चामलको सेलरोटी, स्याउको चाना, गुराँस, कोदाको रोटी, मकैको गेडाको स्थानीय परिकारका २५ वटा कक्ष राखिएका छन् । रासस