०३ असार २०८३, बुधबार

वर्षा र हावाहुरीले २०० हेक्टरको धानबालीमा क्षति

कात्तिक ६, २०७८
वर्षा र हावाहुरीले २०० हेक्टरको धानबालीमा क्षति
प्रतिकात्मक तस्वीर

म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण २०० हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको छ ।

गत असोज ३१ गते रातिदेखि कात्तिक ४ गते बिहानसम्म भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीको अभिलेख अनुसार जिल्लाभर ३ हजार ८९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । कृषि ज्ञान केन्द्र म्याग्दीका वरिष्ठ बागवानी विकास अधिकृत किरण सिग्देलका अनुसार जिल्लाका ६ वटै स्थानीय तहबाट संकलन गरिएको प्रारम्भिक विवरणअनुसार पाक्नै काटेर खेतमा सुकाएको धान पानीले भिजेर क्षति पुगेको छ भने पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर क्षति पुर्‍याएको छ ।

‘प्रारम्भिक विवरणअनुसार २०० हेक्टर क्षेत्रफलमा क्षति देखिएको छ, थप विवरण पनि संकलन गरिरहेका छौं,’ अधिकृत सिग्देलले भने ।

अधिकृत सिग्देलका अनुसार जिल्लाको लेकाली क्षेत्रमा काटेर खेतमा सुकाएको धान ५ दिनसम्मको लगातारको वर्षाले भिजेर खेतमा नै धानको दाना झरेका कारण क्षति पुगेको छ भने तल्लो क्षेत्रमा पाक्ने लागेका धानको बोट हावाहुरीले ढलाएपछि दाना पोटिलो नहुनुका साथै खेतमा नै दाना झरेकाले उत्पादन कम हुने देखिएको छ ।

जिल्लाका रत्नेचौर, बगरफाँट, फापरखेत, गरापानी, खबरा, सीम, बाबियाचौर, पुलाचौर, अर्मन, कुहूँ, देवीस्थान लगायतका ठाउँमा लगाइएको धानबालीमा क्षति पुगेको स्थानीय कृषकले बताएका छन् । यस वर्ष धान रोप्ने समयमा पर्याप्त वर्षा भएको, धानमा रोग किराको प्रकोप नदेखिएको र सिँचाइको सुविधा पनि पुगेकाले विगतका वर्षका तुलनामा धान उत्पादनमा वृद्धि हुने किसानले आशा गरेका थिए तर थन्क्याउने बेलामा भएको बेमौसमी वर्षा र हावाहुरीका कारण धान बालीमा क्षति पुगेपछि किसान चिन्तित बनेका हुन् ।

केन्द्रका अनुसार ५७ हेक्टर क्षेत्रफलको तरकारी खेतीमा पनि क्षति पुगेको छ । यस वर्ष म्याग्दीमा १ हजार १३० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । २ हजार ७०५ हेक्टरमा गरिएको कोदो खेतीमध्ये ८३ हेक्टरमा क्षति पुगेको केन्द्रले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्