
प्रदेश १ मा नेपाली कांग्रेसका केही असन्तुष्ट सांसदले 'फ्लोरक्रस' गरेर मुख्यमन्त्री भीम आचार्यलाई मत दिने तयारी गरेको सुइँको पाएपछि कांग्रेसले प्रदेश सभाको आइतवारको बैठक रोक्न सचिवालयमा निवेदन दिएको छ ।
मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आजको लागि तय गरिएको थियो ।
‘विशेष कारण’ भन्दै कांग्रेसले आजको बैठक रोक्न सभामुखसँग आग्रह गरेको छ । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले एक दिनको लागि बैठक सार्न भन्दै प्रदेश सभामा निवेदन दर्ता गराएका हुन् । तर, कांग्रेसका एक सांसदले एमालेको मुख्यमन्त्रीलाई विश्वासको मत दिने सम्भावना नरहेको दाबी गरे ।
बागमतीमा जस्तै प्रदेश १ मा पनि मुख्यमन्त्री आलोपालो गर्नुपर्ने कांग्रेसको माग छ । शुक्रवारको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए । आज छलफल र मतदान गर्ने तयारी थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको पूर्वाञ्चल भ्रमणका कारण आजको लागि तय भएको बैठक स्थगित गर्न आग्रह गरिएको कांग्रेस नेताहरूले दाबी गरेका छन् ।
कर्णाली प्रदेशबाट शुरू भएको फ्लोरक्रसको संस्कार विभिन्न प्रदेश हुँदै साउन ३ गते प्रतिनिधि सभामा पनि भएको थियो ।