
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली यूएई प्रस्थान गरेको छ ।
भोलि (सोमवार) देखि शुरू हुने छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागी हुन टोली दुबई प्रस्थान गरेको हो ।
डाइलग कात्तिक ८ देखि १२ गतेसम्म (२५-२९ अक्टोबर) हुनेछ । टोलीमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल पनि छन् ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए ।
श्रमिक पठाउने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्नका लागि स्थापित ‘आबुधाबी डायलग’ मा नेपाली श्रमिकहरूको हित र सुरक्षाका विषयमा छलफल गरिने मन्त्री श्रेष्ठले बताए ।
‘आबुधाबी डायलग’ मा १६ देशका श्रममन्त्री सहभागी हुनेछन् । ४ वटा देश पर्यवेक्षकका रुपमा सहभागी हुनेछन् । साथै अन्तर-सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले पनि डाइलगमा भाग लिनेछन् ।