०२ असार २०८३, मंगलबार

नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयन गरेर अगाडि बढ्ने दुबै पक्षको प्रतिवद्धता

कात्तिक २०, २०७४
नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयन गरेर अगाडि बढ्ने दुबै पक्षको प्रतिवद्धता


काठमाडौँ, ७ असार - उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग आज नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले भेट गरी दुई देशबीचको आपसी सम्बन्ध तथा चासोका विषयमा छलफल गरेको छ ।Nepal China

भेटवार्तामा नेपाल र चीनबीचमा भएका विगतका सम्झौतालाई कार्यान्वयन गरेर अगाडि बढ्ने र आगामी दिनमा आपसी सम्बन्धलाई प्रगाढ बनाउँदै लैजाने विषयमा जोड दिइयो ।

सो अवसरमा परराष्ट्रमन्त्री महराले चीनसँग भएका महत्वपूर्ण सम्झौताहरु पारवहन तथा यातायात, रोड एन्ड बेल्ट इनिसियटिभस्, क्रस बोर्डर इकोनोमिक जोन जस्ता सम्झौतामा दुई पक्षबीच छलफल गरेर कार्यान्वयन गरिने प्रतिबद्ध व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आपसी सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताउँदै उनले चिनियाँ उद्योगी व्यवसायीको प्रतिबद्धताअनुसार ८ दशमलव ३ अर्ब अमेरिकी डलर बराबरको लगानी चाँडै आउने विश्वास व्यक्त गरे । मन्त्री महराले स्वतन्त्र व्यापार सम्झौता (एफटिए) सम्बन्धी प्रावधानले नेपालको व्यापार घाटा कम गर्न, उत्पादन वृद्धि गर्न र निर्यात वृद्धि गर्न सहयोग गर्ने विश्वास पनि व्यक्त गरे ।

उनले नेपाललाई चीनले ५१२ वटा वस्तुमा दिएको शून्य भन्सार महसुलका कारण पनि व्यापारमा नेपालले फाइदा लिन सकेको बताए । मन्त्री महराले पर्यटन प्रवद्र्धनका लागि दुवै मुलुकबीच पहल गरेर अगाडि बढ्ने उल्लेख गरे ।

उनले वर्तमान राजनीतिक अवस्थाबारे जानकारी दिँदै संविधानको कार्यान्वयनका सिलसिलामा पहिलो चरणको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको र दोस्रो चरणको निर्वाचन अगाडि बढ्ने क्रममा रहेको बताए । मन्त्री महराले सबै निर्वाचन तोकिएको समयमै सम्पन्न हुने विश्वास दिलाए ।

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले आपसी विश्वास, समझदारी र पञ्चशीलका आधारमा अगाडि बढ्ने बताए । मन्त्री महराले परम्परागतरुपमा हुँदै आएको दुई देशबीचको उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिनुपर्ने बताए ।

उनले आफ्ना समकक्षी तथा चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभयो । जवाफमा चिनिया प्रतिनिधि मण्डलका प्रमुख तथा परराष्ट्र सचिव कुङ सेन युले नेपालले ओबोरमा हस्ताक्षर गरेसँगै नेपाल–चीनबीचको सम्बन्ध नयाँ ‘फ्रेम’मा अगाडि बढेको बताए । दुई मुलुकबीच आपसी समझदारी, विश्वास र सद्भावका आधारमा सम्बन्ध प्रगाढ बन्दै गरेको पनि उनले बताए ।

परामर्श संयन्त्रको बैठक फलदायी भएको बताउँदै उनले आउँदा दिनमा दुई देशबीच भएका सम्झौता कार्यान्वयनको चुनौती रहेको विचार व्यक्त गरे । कुङले सम्झौता कार्यान्वयनमा आफ्ना सरकारी संयन्त्र परिचालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।


उनले पराराष्ट्रमन्त्री महरालाई चिनियाँ विदेशमन्त्री वाङ यीको बधाई तथा शुभकामना सन्देश सुनाउँदै सक्दो चाँडो चीन भ्रमणको निमन्त्रणा दिए ।

बैठकमा परराष्ट्र मन्त्रालयका उच्चअधिकारी तथा नेपालका लागि चिनियाँ राजदूत यु होङलगायतका प्रतिनिधिको सहभागिता थियो । मङ्गलबार सम्पन्न संयुक्त परामर्श संयन्त्रको एघारौँ बैठकमा भाग लिन चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको थियो । उक्त प्रतिनिधिमण्डलको आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी भोलि स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्