
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका छन् ।
शुक्रवार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओली प्रवृत्ति नेपाल र नेपाली जनताको लागि घातक हो भन्ने कुरा स्थापित भएपछि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली बालुवाटारबाट बालकोट जानुपरेको बताए ।
अध्यक्ष दाहालले ओली बालुवाटारबाट बालकोट जानु भनेको ठूलो पराजय भएको बताए ।
‘विचित्रको प्रवृत्ति भएको हुनाले बालुवाटारबाट बालकोट जानु भनेको वास्तवमा ठूलो पराजय हो, मातम छाएको हो,’ उनले भने, ‘त्यो नदेखाउन बाजा बजाएर मलामी जाँदा नाच्दै गाउँदै गए । कोही मान्छे मलामी जाँदा नाच्छ गाउँछ भने त्यो ओली हो ।’
अध्यक्ष दाहालले राजनीतिलाई स्थिरता दिनुपर्ने बेलामा ओली प्रवृत्तिले त्यो हुन नदिएको बताए ।
समाज र देश विकासको लागि वाम गठबन्धन भए पनि त्योअनुसार काम हुन नसकेको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, ‘देशको राजनीति विशिष्ट अवस्थामा छ, मैले चितवन जिल्लाबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दैगर्दा र पार्टीको तर्फबाट यहाँको जनतालाई सम्बोधन गर्दैगर्दा, सकारात्मक परिस्थिती थियो, संविधान बनिसकेपछि, राजनीतिक अस्थिरतालाई हटाउन, समाज र विकासको उद्देश्यकासाथ वाम गठबन्धनबाट निर्वाचन लडिएको थियो, कम्युनिष्टहरुलाई एकतावद्ध गर्ने उद्देश्य राखिएको थियो, त्यसले चितवन जिल्ला र देशभर नै सम्पूर्ण वामपन्थी र जनवादी शक्तिहरुमा जनताले एउटा ठूलो ऊर्जा जनताबाट प्राप्त भएको थियो ।’
अध्यक्ष दाहालले राजनीतिक अस्थिरता देशले थेग्न सक्दैन भनेर स्थिरताको प्रस्ताव गर्दा ओली प्रवृत्तिले सफल बनाउन नदिएको आरोप लगाए ।