१५ असार २०८३, सोमबार

वर्ल्ड लिडर समिटमा भाग लिन लण्डन पुगे प्रधानमन्त्री देउवा

कात्तिक १३, २०७८
वर्ल्ड लिडर समिटमा भाग लिन लण्डन पुगे प्रधानमन्त्री देउवा
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्य (बेलायत) को ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औं सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लण्डन पुगेका छन् ।

शुक्रवार स्थानीय समय ८ः२० बजे उनी लण्डन पुगेका हुन् ।

सो क्रममा प्रधानमन्त्री देउवालाई लण्डनस्थित नेपाली दूतावासकी कार्यबाहक राजदूत रोशन खनाल, बेलायतको संसद हाउस अफ कमन्सका सदस्य तथा नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्मालगायत दूतावासका उच्च अधिकारीले लण्डनस्थित हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री देउवाले शनिवार नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री देउवासँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली संघ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्नेछन् । ३१ अक्टोबरमा प्रधानमन्त्री देउवा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले भूतपूर्व गोर्खा संगठनका प्रतिनिधि, बेलायती संसद् सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग पनि भेटघाट गर्नेछन् ।

प्रधानमन्त्री देउवा १ नोभेम्बरमा ग्लास्गोमा हुने कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुन लण्डनबाट अक्टोबर ३१ मा त्यसतर्फ प्रस्थान गर्नेछन् । उद्घाटनको साँझ प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सम्मेलनमा सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । प्रधानमन्त्री देउवाले सो अवसरमा राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने हुने बताइएको छ ।

२ नोभेम्बरमा प्रधानमन्त्री जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ब्रेकफास्ट रिसेप्सनमा पनि सहभागी हुने हुनेछ । प्रधानमन्त्री देउवाले ३ नोभेम्बरमा स्कटल्याडको एडिनबर्गस्थित रोयल बोटानिकल गार्डेनको भ्रमण गरी नेपाली बगैंचामा बिरुवा रोप्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका वरिष्ठ अधिकारीहरू छन् । प्रधानमन्त्री देउवा बेलायतबाट ३ नोभेम्बरमा स्वदेशका लागि प्रस्थान गर्नेछन् । कोप–२६ ३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म ग्लास्गोमा आयोजना हुँदैछ । गोरखापत्रमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्