०२ असार २०८३, मंगलबार

दबाब बढेपछि एमालेमा महाधिवेशन प्रतिनिधि थप

कात्तिक १३, २०७८
दबाब बढेपछि एमालेमा महाधिवेशन प्रतिनिधि थप

नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएर १ हजार ९९९ बनाएको छ ।

शुक्रवार बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या ४०० थपेको हो ।

बिहीवार बसेको स्थायी कमिटीले १ हजार ५३६ प्रतिनिधि चयन गर्ने निर्णय भएको थियो । 

केन्द्रीय कमिटीमा संख्या बढाउनुपर्ने सुझाव आएपछि संख्या बढाएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले भूगोलमा संख्या बढ्ने बताए ।

भूगोलमा १ हजार १९६ संख्या तोकिएको छ । ‘स्थायी समिति १५ सयको हाराहारीमा प्रस्ताव गरेको थियो, केन्द्रीय सदस्यबाट बढाउन सुझाव आयो, सुझावको आधारमा थपिएको हो ।’

विधान महाधिवेशनमा भने ६ हजार प्रतिनिधि थिए । विधान अधिवेशनमा भन्दा धेरै घटाएको भन्दै बढाउन दबाब बढेको थियो । ‘२ हजारमा नबढ्ने गरी प्रतिनिधि बनाउने निर्णय भएको छ,’ केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले भने, ‘हाम्रो सुझावकै आधारमा प्रतिनिधि संख्या बढाइएको हो ।’ 

बैठकले समावेशिताको आधारमा प्रतिनिधि छनोट गर्ने निर्णय पनि गरेको छ । महाधिवेशनमा महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिमको उल्लेख्य प्रतिनिधि गराइने भएको छ ।

एमालेको प्रतिनिधि छनोट कात्तिक २७ गते एकैदिन हुने भएको छ । केन्द्रीय समितिको बैठकले एकैदिन प्रतिनिधिको निर्वाचन गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।

एमालेले गत कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिकाको एकैदिन अधिवेशन गरेको थियो । केन्द्रीय कमिटीको बैठकमा विद्युतीय मशिनको परीक्षण गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

बाँकी वडा र पालिकाको छिट्टै अधिवेशन सक्न निर्देशन गरिएको उनले बताए । 

यसैबीच, एमालेको १०औं राष्ट्रिय महाधिवेशनको मूल व्यवस्थापन समितिमा रघुजी पन्त र शेरबहादुर तामाङ  थपिएका छन् । केन्द्रीय समितिको बैठकले स्थायी समिति सदस्य पन्त र केन्द्रीय कार्यालय सचिव तामाङलाई थपेर मूल व्यवस्थापन समितिको संख्या २१ बाट बढाएर २३ पुर्‍याएको छ । 

एमाले प्रवक्ता ज्ञवालीले पन्त र तामाङलाई मूल व्यवस्थापन समितिमा थपिएको जानकारी दिए । समितिको संयोजक रामबहादुर थापा ‘बादल’, सहसंयोजक सुरेन्द्र पाण्डे तथा सचिव विष्णु रिमाल छन् ।  

यस्तै, नेकपा भंग भएपछि माओवादी केन्द्रमा नफर्किएका प्रभु साह एमालेसँग रुष्ट रहँदै आएका थिए । शुक्रवारको केन्द्रीय समितिको बैठकमा भने साह सहभागी भएका छन् ।

उनको सिफारिसमा २ जना केन्द्रीय सदस्यलाई मनोनयन गरेपछि साह बैठकमा गएका हुन् । केन्द्रीय कमिटीको बैठक थपिएका केन्द्रीय सदस्य कुन्दन कुशवाह र मोहम्मद समीरको शपथ पनि भएको छ ।

साह समर्थित कुशवाह र समीर थपिएको एमाले उपाध्यक्ष भीम रावल भने रुष्ट छन् । माओवादी केन्द्रबाट आएकालाई प्राथमिकता दिएको तर १० बुँदे सहमतिमा ध्यान नदिएको भन्दै उनले सहमति कार्यान्वयनको लागि बनेको कार्यदलबाट राजीनामा दिएका छन् । उपाध्यक्ष रावल कार्यदलको संयोजक थिए ।

एमालेमा विवाद भएको बेला नै सुदूरपश्चिमको इन्चार्जमा रावलको ठाउँमा लेखराज भट्टलाई जिम्मेवारी तोकिएको थियो । भट्ट माओवादी केन्द्रबाट एमालेमा गएका हुन् । अन्य स्थानमा १० बुँदे कार्यान्वयन भएपछि रावल स्वयं भने सुदूरपश्चिम इन्चार्जमा फिर्ता हुन सकेनन् । जसका कारण उपाध्यक्ष रावल पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट भएका छन् ।

यस्तै, एमाले महाधिवेशन उद्घाटनपछि सिधै नेतृत्व छनोटको प्रक्रिया अगाडि बढाउने भएको छ । केन्द्रीय कमिटी बैठकले महाधिवेशनपछि निर्वाचन प्रक्रिया गर्ने निर्णय गरेको छ । महाधिवेशनको उद्घाटन नारायणी नदीको किरानामा र बन्दसत्र सौराहमा हुने तय गरिएको छ । 

एमालेको महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुन गइरहेको छ । महाधिवेशनअघिको एमालेको अन्तिम केन्द्रीय समितिको बैठक मंसिर ९ गते सौराहमा हुने प्रवक्ता ज्ञवालीले जानकारी दिए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्