
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई संसदीय प्रणालीकै कलंकको संज्ञा दिएका छन् ।
अध्यक्ष ओलीले सभामुख सापकोटाजस्तो संसदीय प्रणालीकै कलंकलाई फेरि संसदमा पाइला टेक्न नदिने गरी आगामी निर्वाचनमा हराउन पनि सिन्धुपाल्चोक जिल्लाका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
नेकपा एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सभामुख सापकोटाले सभामुखको गरिमामात्रै नराखेको नभई संसदीय व्यवस्थाको कुनै पनि मर्यादा कायम राख्न नसकेको गम्भीर आरोप समेत लगाए ।
‘अग्नि सापकोटाजस्तो मान्छे संसदीय प्रणालीकै कलंक फेरि निर्वाचित भएर संसदमा पाइला टेक्न पाउनुहुन्छ ? उनी कलंक हुन् संसदीय व्यवस्थाका । सभामुखको गरिमाको त कुरै छोडौं । कुनै मर्यादा छैन,’ उनले भने, ‘नेकपा एमालेको विरुद्धको षडयन्त्रमा सामेल भएर पदीय भूमिका, पदीय गरिमा त्यो सबै कुरालाई बिर्सिएर तिलाञ्जली दिएर आफू सरकारमा हुँदा संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएर पार्टीको निर्देशनमा अनुपस्थित हुने, पदीय कर्तव्य पालना नगर्ने । अनुपस्थित भएर संवैधानिक परिषदमा योगदान नगर्ने देशलाई चल्न दिने काम उनले गरेका छन् ।’