
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गफ मात्र छाँटेर समय व्यतित गरेको आरोप लगाएका छन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले विगतको सरकारले के गर्यो र गरेन भन्दा पनि वर्तमान सरकारले के गर्दैछ भन्ने कुरा महत्त्वपूर्ण हुने बताए । ओली सरकारले साढे तीन वर्ष गफमा बिताएको बताएका कार्कीले काँग्रेसको सरकार मुलुकको समृद्धि र बिकास केन्द्रीत रहेको दावी गरे ।
शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले केन्द्रमा बनेको गठबन्धनको सहमति बमोजिम वर्तमान सरकार अघि बढेको बताए ।
यसैबीच मन्त्री कार्कीले प्रदेश १ का आफ्ना पार्टी नेपाली काँग्रेसका प्रदेश सांसदहरुलाई पार्टी निर्णय विपरित नजान निर्देशन दिएका छन् । मन्त्री कार्कीले प्रदेश सभामा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई पार्टी निर्णयको अक्षरश पालना गर्न निर्देशन दिएका हुन् ।