०७ असार २०८३, आइतबार

फोहोर व्यवस्थापन नगरेको भन्दै वडाध्यक्षहरूले फाले मेयरकै घरअघि फोहोर

कात्तिक १४, २०७८
फोहोर व्यवस्थापन नगरेको भन्दै वडाध्यक्षहरूले फाले मेयरकै घरअघि फोहोर

जनकपुरका स्थानीय जनप्रतिनिधिहरूले मेयरको घरअघि फोहोर फाल्दै विरोध प्रदर्शन गरेका छन् । 

चाडपर्वको अवसरमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाइ गर्नमा ध्यान नदिएको भन्दै मेयर लालकिशोर साहको घरअघि स्थानीय जनप्रतिनिधिहरूले फोहोर फालेर विरोध गरेका हुन् । 

उनीहरूले मेयर साहलाई पटक–पटक फोहोर व्यवस्थापनको लागि आग्रह गर्दासमेत कुनै चासो नदिएको आरोप लगाएका छन् । 

शुभ दीपावली नजिकिँदै फोहोर व्यवस्थापनमा चासो नदेखाएको भन्दै केही वडाध्यक्षहरूले नगरप्रमुख साहलाई कालोमोसो दल्ने चेतावनीसमेत दिएका छन् । 

वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहोर व्यवस्थापनलाई मेयर साहले बेवास्ता गरेको भन्दै मेयर साहलाई कालोमासो दल्ने चेतावनी दिए । 

वडा नम्बर–१ का अध्यक्ष शत्रुधन साह, ३ का अध्यक्ष दीपेन्द्र साह, ४ का अध्यक्ष सुदर्शन सिंह र ७ का अध्यक्ष जानकीराम साहलगायतले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि धर्नासमेत दिएका छन् ।

‘हामीले यो भन्दा पहिला पनि धेरै पटक फोहोर व्यवस्थापन हुनुपर्छ भनेका थियौँ, तर मेयर साबले फोहोर व्यवस्थापनका लागि कुनै चासो नै देखाउनु भएन,’ वडाध्यक्ष शत्रुधन साहले भने, ‘तपाईंले नसके हामी वडाध्यक्षहरूको समूह बनाएर काम गर्छौं भन्दा पनि उहाँले मान्नुभएन, काम नगर्ने मेयर अनि गाली खाने हामी वडाध्यक्ष ? उहाँचाहिँ अहिले काठमाडौं घुम्न जाने चाडबाडको बेला, रमाइलो गर्ने ? अब हामी कालोमोसो दल्नपर्छ भने त्यो पनि दल्नेछौँ ।’

उनीहरूले उपमहानगरपालिकाको कार्यालय अगाडिको बाटो जाम गरेर धर्नामा बसेका थिए । 

वडाध्यक्षहरूले फोहोर व्यवस्थापनका लागि चासो नदेखाएको, आफूहरूलाई ट्याक्टरसमेत उपलब्ध नगराएको र जनताप्रति बेवास्ता गरेको र आफू भ्रष्टाचारमा मात्र केन्द्रित बनेको आरोप लगाएका छन् । 

जनकपुरधाम उपमहानगरभित्रका विभिन्न वडामा थुपारिएको फोहोर व्यवस्थापनमा असहयोग गरेको भन्दै नगरप्रमुख साहप्रति जनप्रतिनिधिहरू पनि आक्रोशित बनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्