
रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रूपैयाँ मूल्यको ‘महाकरुणा’ बुद्ध मूर्तिको आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेकी छन् ।
‘ह्वाइट जेड’ धातुबाट निर्मित २ अर्ब ५० करोड मूल्यको महाकरुवा बुद्धमूर्ति हो । बुद्धमूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध मूर्ति राखिएकोमा यसले विश्वभर शान्तिको सन्देश फैलाउन ठूलो भूमिका खेल्ने बताइन् ।
‘विश्वभरका पर्यटकमाझ शान्ति, अहिंसा र करुणाको सन्देश फैलाउन यसबाट ठूलो मद्दत पुग्ने छ,’ उनले भनिन् ।
राष्ट्रपतिले बुद्धका उपदेशको अनुशरण गरेमात्रै विश्वमा शान्ति कायम हुने भन्दै यसलाई सबैले महसुस गर्दै आफ्नो जीवनमा अनुशरण गर्नुपर्नेमा जोड दिइन् ।

लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रूपमा विकास गर्नुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले यसका लागि लुम्बिनी गुरुयोजना छिटो पूरा गरी लुम्बिनी सर्किटको विकास गर्नुपर्ने बताइन् ।
कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले विमानस्थलमा बुद्ध मूर्ति राखेर यसको महत्त्वलाई अझै बढाइएको भन्दै यसबाट विमानस्थलमा ओर्लने पर्यटकहरूले सन्देश बोकेर आउने बताए ।
उनले विमानस्थल अविलम्ब सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको भन्दै आयोजनालाई जतिसक्दो छिटो काम सक्न निर्देशन दिए । छिटो क्यालिब्रेसन फ्लाइट गर्न निर्देशन दिँदै उनले यसका लागि सरकारले के गर्नुपर्छ, सबै गर्न तयार रहेको खाणले बताए ।
म्यानमारस्थित खानीसम्बन्धी काम गर्ने कम्पनी मालविन ग्रुपद्वारा निर्मित एक हजार आठ सय केजी तौल भएको बुद्ध मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको हो ।
बुद्ध मूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र सोही प्रदेशका मन्त्रीसमेत सहभागी थिए । बुद्ध मूर्ति १ दशमलव ९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ ।
