शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अस्थायी र करार शिक्षकको व्यवस्थापन तथा दरबन्दी मिलानलगायत अल्झेर बसेका शिक्षा क्षेत्रका कामलाई अगाडि बढाइने बताए ।
“शिक्षा क्षेत्रमा चुनौतीको थुप्रो छ, ४०औँ वर्षदेखि समस्याहरु गाँजिएर रहेका छन्, तिनलाई क्रमशः हल गरिनेछ”, उनले भने, “अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग पनि यस विषयमा छलफल भएको छ, अब लगत्तै काम सुरु हुन्छ ।”
मन्त्री पाडैलले अस्थायी शिक्षकका जायज मागलाई नीति र विधिगत प्रबन्धमार्फत सम्बोधन गरिने भन्दै शिक्षक दरबन्दी मिलानको काम सुरु भइसकेको बताए ।