
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलबीच आज भेटवार्ता भएको छ ।
भेटमा वर्षौंदेखि अलपत्र परेको भक्तपुर नगरकोट सडक आगामी ४५ दिनभित्र निर्माण सम्पन्न गर्नेबारेमा छलफल भएको मन्त्री भँडेलले जानकारी दिए । प्रचण्डका घरभेटी शारदा अधिकारीले ठेक्का लिएको सात वर्ष बितिसक्दा पनि उक्त सडक अझै निर्माण सम्पन्न नभई अलपत्र परेपछि हालै मन्त्री बनेका भक्तपुर चाँगुनारायण निवासी मन्त्री भँडेलले अध्यक्ष दाहालसँग भेट गरी सडक निर्माण छिटो सम्पन्न गर्न पहल गरिदिन आग्रह गरेका हुन्।
मन्त्री भँडेलले अध्यक्ष दाहालसँग नगरकोट सडकखण्ड नबन्दा लामो समयदेखि पर्यटन तथा स्थानीय जनताले ठूलो दुःख पाउनुपरेको बताएपछि अध्यक्ष दाहाल सडक समयमै सम्पन्न गर्न पहल गर्ने आश्वासन दिएको जानकारी दिए । दाहाल निवासबाटै मन्त्री भँडेलले निर्माण व्यवसायी अधिकारीसँग टेलिफोनमा कुराकानी गरेको र अधिकारीले आगामी ४५ दिनभित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको उनको भनाइ थियो ।
दाहाललाई मन्त्री भँडेलले आफूले उक्त सडक निर्माणलाई मुख्य चुनावी मुद्दा बनाएको र अहिले संयोगले सम्बन्धित मन्त्रीसमेत आफैँ भएकाले सडक निर्माण पूरा गराउने दायित्व भएको भन्दै सहयोग गरिदिन आग्रह गरेको उनले जानकारी दिए ।
अध्यक्ष दाहालको घरभेटी भएका कारण सडक निर्माणमा ढिलासुस्ती गरेको भन्ने आरोपसमेत लागेकाले त्यो आरोपलाई चिर्दै वर्तमान सत्ता गठबन्धनको समेत इज्जत बढाउन सडक निर्माण सम्पन्न गर्नुपर्नेमा छलफल भएको बताइएको छ ।