खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखाले दशैंतिहार र छठपर्वलाई लक्ष गरेर वितरण गरिरहेको छुट सुविधाको चामल सकिन लागेकोे छ ।
जुम्ला जिल्लाका ७ गाउँपालिकालाई ७०० क्विन्टल र चन्दननाथ नगरपालिकालाई ३०० क्विन्टल चामलको कोटा तोकिएको थियो ।
दशैंका बेला जुम्लाका वासिन्दाले अत्यधिक मात्रामा चामल लिएकाले तिहार र छठ नआउँदै छुट सुविधाको खाद्यान्न सकिन थालेको छ । लिमिटेडले चाडपर्वका बेला १ हजार क्विन्टल चामलको कोटा छुट्याएको थियो ।
कम्पनीका प्रमुख तिलक सुनारले भने, ‘छुट सुविधाको चामल लिनेको भीड लाग्ने गरेको छ । यसरी चामल वितरण गर्न थालेकाले उपभोक्ताको भीड लाग्न थाल्यो । चामल पनि सकिन थालिसकेको छ ।’
कम्पनीका अनुसार ९२२ दशमलव ६० क्विन्टल चामल बिक्री भइसकेको छ । अहिलेकै दरमा बिक्री भए तिहार, छठसम्म पुग्दा छुट सुविधाको खाद्यान्न अभाव हुने भएको छ । हाल छुट सुविधाको चामल ७८ क्विन्टल मात्रै बाँकी रहे पनि चामल लिनेको भीड रोकिएको छैन ।
‘थप १ हजार क्विन्टल चामल पठाउन माग गरिएको आइपुगे अभाव हुने छैन । यहाँको आवश्यकताबमोजिम १ हजार क्विन्टल मागेका छौं,’ उनले भने ।
केन्द्रले ५०० क्विन्टल चामल पठाउने जनाएको छ । छुट सुविधाको चामल जुम्लामा गत असोज १ गतेदेखि वितरण शुरू गरिएको थियो । हालसम्म १ हजार ५३७ जनाले चामल लिएको शाखा कार्यालयले जनाएको छ । कात्तिक १–३ गतेसम्म परेको अविरल वर्षाका कारण धानबालीमा क्षति पुगेपछि किसान भोकमरी हुने त्रासमा छन् । अब झनै छुट सुविधाको चामल किन्नेको घुइँचो लाग्ने देखिएको छ ।
कम्पनीका अनुसार जिल्लाको पातारासी गाउँपालिका र चन्ददनाथ नगरपालिकावासीले छुट सुविधाको चामल अत्यधिक लिएका छन् भने अन्य स्थानीय तहले निकै कम मात्रमा चामल लिएका छन् । शाखा कार्यालयबाट ४ लाख ६३ हजार बराबरको छुट सुविधाको चामल बिक्री भएको जनाइएको छ ।
छुट सुविधाबाहेक साढे ७०० क्विन्टल मौज्दात रहेको र थप ६ हजार क्विन्टल चामल आयात भइरहेको कम्पनीले जनाएको छ ।