छाउनीस्थित रेन्जर गणमा नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम अभ्यास ‘एक्स टेक नेइल २२’ सुरु भएको छ ।
आजबाट सुरु भएको संयुक्त अभ्यास मंसिर १४ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरू मध्येबाट ५० जना र अमेरिकी सेनाका करीब २० जना सहभागी हुनेछन् ।
काठमाण्डौं, पोखरा र अन्नपुर्ण वेश क्याम्प ईलाकामा संचालन हुने यस तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाउने उद्देश्य रहेको सेनाले जनाएको ।
संयुक्त तालिमबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजहरूमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धार सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक क्षमता अभिबृद्धि हुनुको साथै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाको रहेको जनाएको छ ।