२३ जेठ २०८३, शनिबार
देशैभर ढल्यो एमालेको सत्ता

सत्ताबाट पूर्णरूपमा बाहिरियो एमाले, केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा

कात्तिक १५, २०७८
सत्ताबाट पूर्णरूपमा बाहिरियो एमाले, केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा
फाइल फोटो

प्रदेश–१ सरकारको मुख्यमन्त्रीबाट भीम आचार्यले राजीनामा दिएपछि एमाले संघदेखि प्रदेशसम्म प्रतिपक्षी भूमिकामा पुगेको छ । 

मुख्यमन्त्री नियुक्त भएदेखि नै अल्पमतमा रहेका आचार्यले आज प्रदेश सभालाई सम्बोधन गरी राजीनामा दिएका हुन् ।

नेकपा एमाले संघीय संसद्को सबैभन्दा ठूलो दल हो । 

स्थानीय तहमा पनि पनि एमाले सबैभन्दा ठूलो राजनीतिक दल हो । तर, अब प्रदेश र संघ कहीँ पनि एमाले नेतृत्वको सरकार बाँकी रहेन ।

२०७४ को निर्वाचनपछि राजनीतिक वर्चस्व उँचो बनाएको एमालेको आरोलो यात्रा पनि उत्तिकै चाँडो शुरू भयो । 

विशेषगरी, २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक संसद् विघटन गरेपछि एमाले सत्ताबाट ओर्लिने क्रम शुरू भएको हो । 

२०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्र गठबन्धन बनाएर निर्वाचनमा सहभागी भएका थिए । त्यसबेला निर्वाचनपछि दुई पार्टी एकीकरण गर्ने एजेण्डा लिएर चुनावमा गएका थिए । 

मतदाताले दुई पार्टी एकीकरण गर्ने एजेण्डा अनुमोदन गरिदिए । संघीय प्रतिनिधि सभामा दुई पार्टीको गरी १७१ स्थानमा जीत हासिल भयो । 

संघीय सरकार एमाले र माओवादीले बनाए । चुनावमा गरेको प्रतिबद्धता अनुसार नै २०७५ जेठ ३ मा पार्टी एकीकरण गरेर एउटै पार्टी नेकपा बनाए । 

एउटै पार्टीको शक्तिशाली सरकार बन्यो । सरकारमा तत्कालीन संघीय समाजवादी (उपेन्द्र यादव नेतृत्वको) पनि सहभागी भयो । दुईतिहाइ बुहमतको सरकार बन्यो । 

समृद्ध नेपाल, सुखी नेपालीको नारालाई व्यवहारतः कार्यान्वयन गर्नका लागि अनुकूल राजनीतिक वातावरण बनेको थियो । 

सातमध्ये ६ प्रदेशमा नेकपाको नेतृत्वमा सरकार थियो । त्यसमा पनि एमाले पृष्ठभूमिका नेता मात्रै  चारवटा प्रदेशको सरकार प्रमुख थिए । 

बागमती र प्रदेश–१ मा एमालेको एकल बहुमतको सरकार थियो । 

तर, एमालेको सत्ता राजनीतिको यो शिखर तीन वर्षमै गर्ल्यामगुर्लुम ढलेको छ । केन्द्रदेखि प्रदेशसम्म एमाले प्रतिपक्षको हैसियतमा पुगेको छ । 

नेकपाभित्र आएको विवाद व्यवस्थापन गर्न नसक्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले २०७७ पुस ५ मा संघीय संसद् विघटन गरेर निर्वाचनको घोषणा गरेका थिए ।

संसद् विघटनका कारण सत्तारूढ नेकपामा विभाजन आयो । 

प्रधानमन्त्री ओली खेमा विघटनको पक्षमा र पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल खेमा विघटनको विपक्षमा देखिए । ओलीले प्रतिगमन गरेको आरोप सहित प्रचण्ड–नेपाल पक्ष सडक आन्दोलनमा उत्रियो ।

२०७७ फागुन २३ मा सर्वोच्च अदालतको फैसलाको कारण नेकपा पूर्ववत् एमाले र माओवादी केन्द्रको रूपमा ब्युँतियो । संसद् विघटनका कारण नेकपामा आएको विभाजन एमालेमा सर्‍यो । ओली र नेपाल बीचमा खटपट कामय रह्यो । 

यसपछि भने एमालेले राजनीतिक सफलताले आरोलो यात्रा समात्यो । 

सबैभन्दा पहिले गण्डकी प्रदेशबाट पृथ्वी सुब्बा गुरूङ प्रदेश सरकारको नेतृत्वबाट बाहिरिए । लुम्बिनी प्रदेशमा शंकर पोखरेलले अनेक प्रयास गर्दा पनि सत्ता टिकाउन सकेनन् । 

बागमती प्रदेशमा एमालेको एकल बहुमत थियो । एमालेमा विभाजन आएसँगै बहुमत गुम्यो । माधव नेपाल खेमामा रहेकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएर सरकार जोगाउने प्रयास ७१ दिनसम्म मात्रै टिक्यो ।

प्रदेश–१ मा पनि शेरधन राईलाई सरकारबाट हटाएर माधव नेपाल–झलनाथ खनाल पक्षमा रहेका भीम आचार्यलाई एमालेले मुख्यमन्त्री बनायो । उनले पनि सत्ता जोगाउन सकेनन् र ६९ दिन आचार्य सरकारको नेतृत्वबाट बाहिरिए ।

एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादी पार्टीले दुईवटा प्रदेशको सरकारको नेतृत्व गर्न सफल भएको छ । 

बागमती प्रदेशमा उक्त पार्टीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन् भने प्रदेश–१ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने निश्चित भएको छ । 

लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार बनेको छ । निर्वाचन यताको करीब साढे ३ वर्षको बीचमा एमालेले सत्ता राजनीतिको सफलता सम्पूर्ण रूपमा गुमाएको छ ।   


 

salt training

कमेन्ट गर्नुहोस्