
चालक अनुमतिपत्रको अनलाइन फाराम शुरू भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ ।
कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नै समस्याका कारण स्थगित भएको विभागले जनाएको छ ।
सफ्टवेयरमा समस्या आएपछि अहिले प्राविधिकले मर्मत गरिरहेको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए । जतिसक्दो चाँडो त्यसको समस्या समाधान गरेर सेवा चालू गर्न खोजिएको उनले बताए ।
उनले भने, ‘हामीले जतिसक्दो चाँडो भनेका छौं, कति दिन लाग्छ भन्न सकिँदैन ।’
अनुमतिपत्रका लागि आवेदन गर्दा नयाँ आवेदन र अर्काे अनुमतिपत्र लिइसकेकाको वर्ग थपिने गरिएको छ । नयाँ अनुमतिपत्रका लागि आवेदन दिँदा समस्या भए पनि अर्काे वर्ग थप्नेमा सबै विवरण भरेर फाइल बुझाउने समयमा समस्या देखिएको प्रवक्ता डा. भुसालले बताए ।
एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोजेकाले समस्या देखिएको हुनसक्ने उनले बताए ।
नियमित रूपमा चालू नभएको सेवा खुलाउनाथ सेवाग्राहीको चाप हुने गरेको छ । विगतमा पनि अनलाइन फारम भर्दा पनि समस्या भइरहेको थियो । अहिलेको आवश्यकताअनुसार त्यसको क्षमता नभएको हुनसक्ने भन्दै प्राविधिकले ‘अपडेट’ गरिरहेको उनले बताए ।
कोभिडका कारण झण्डै डेढ वर्ष पहिलेदेखि अनुमतिपत्रको परीक्षा नियमित भइरहेको छैन । विक्रम संवत् २०७६ चैतदेखि सरकारले जारी गरेको बन्दाबन्दीका कारण परीक्षा स्थगित गरिएकामा झण्डै १० महिनापछि अनलाइन फारम खुलाइएको थियो ।
त्यो खुलाइएको केही समयपछि नै पुनः दोस्रो लहरका कारण पुनः सेवा स्थगित भयो । गत वैशाखदेखि काठमाडौं उपत्यकाका ३ लगायतका जिल्लामा निषेधाज्ञाका कारण सेवा सञ्चालन हुनसकेको थिएन ।
सरकारले असारदेखि नै अरु क्षेत्र खुलाएको भए पनि यातायात व्यवस्था विभागले संक्रमण बढ्नसक्ने भन्दै अनुमतिपत्र खुलाएको थिएन । उपत्यकालगायत देशभरमा अनुमतिपत्र लिन चाहनेको संख्या धेरै छ ।