०३ साउन २०८३, आइतबार

‘घुस’ फिर्ता गर्ने ३३ ट्राफिक प्रहरी सम्मानित

कात्तिक १६, २०७८
‘घुस’ फिर्ता गर्ने ३३ ट्राफिक प्रहरी सम्मानित

ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारीचालकलाई कानूनी दायरामा ल्याउने ३३ जना ट्राफिक प्रहरी मंगलवार सम्मानित भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती ट्राफिक प्रहरीलाई मंगलवार एक कार्यक्रमबीच पुरस्कृत एवं खादा ओढाएर सम्मान गरेको छ । 

सम्मानित हुनेहरूमध्ये २० जना ट्राफिक प्रहरीलाई नगदसहित वृद्धिविकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइएको छ भने अन्यलाई खादा ओढाएर प्रशंसा पत्रसहित सम्मान गरेको महाशाखाले जनाएको छ ।

यस्तो कार्यले अन्य ट्राफिक प्रहरी कर्मचारीमा समेत सकारात्मक उत्प्रेरणा जगाउने, अझ बढी जिम्मेवार तथा कामप्रति उत्तरदायी बनाउने विश्वास महाशाखाले गरेको छ ।

प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न विगतदेखि नै महाशाखाले अभियान चलाएको छ । प्रलोभनमा पार्न खोज्ने चालकलाई कानूनअनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

पुरस्कृत हुने ट्राफिक प्रहरीले प्रलोभनमा पार्न खोज्ने ३२ जना चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको भट्टराईले बताए ।

एसएसपी भट्टराईले प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शुद्धीकरणको अभियानलाई थप उचाइमा पुर्‍याउन बफादार एवं निष्ठावान भई आफ्नो जिम्मेवारी निर्वाह गरेकोमा धन्यवाद व्यक्त गर्दै थप सशक्त भई कर्तव्य पालनामा अग्रसर हुन शुभकामनासहित निर्देशन समेत दिए ।

नगद पुरस्कारसहित सम्मानित हुनेमा प्रहरी निरीक्षक रामकृष्ण देवकोटा, प्रहरी नायव निरीक्षक पुरुषोत्तम ढकाल, प्रहरी सहायक निरीक्षकहरू रामेश्वर उप्रेती, अमरबहादुर लुहार र कमलदेव यादव, प्रहरी हवल्दारहरू प्रविणकान्त झा, अशोककुमार दवल, मुकेशप्रसाद कुसवाह, एक्कबहादुर रोकाया, गोविन्दसिंह सिख, शिवनारायण चौधरी, द्रोणप्रसाद पाण्डे र शम्भु नारायण प्रसाद यादव, प्रहरी जवानहरू रमेश गिरी, राजेन्द्र चमार हरिजन, मेखराज जोशी, गणेश भारती, वीरेन्द्रसिंह भाट, नविन भाट, कृष्णबहादुर शाही, आकाश खनाल, नन्दराज भट्ट, सुजन श्रेष्ठ, नरबहादुर बोगटी, विनोद गिरी, गणेश ओझा, केशव बिष्ट, अभिनाश पण्डित, बिष्णु अर्याल, अजय मण्डल, विजयसिंह ऐर, युवराज कटुवाल र टेकबहादुर भण्डारीलाई पनि खादा ओढाएर प्रशंसा पत्रसहित सम्मान गरेको महाशाखाले जनाएको छ ।

गत आर्थिक वर्षमा आर्थिक प्रलोभनमा पार्न खोज्ने १६६ जना सवारी चालकलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने ११३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरेको थियो । अभियानलाई थप प्रभावकारी बनाई चालू आर्थिक वर्षको ६ महिनामा १०९ जना चालकलाई पक्राउ गर्ने ८३ जना ट्राफिक प्रहरीलाई पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरिएको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्