
बेलायतमा एकजना मानिस केही दिनका लागि घरबाहिर गएर फर्कँदा उनको घर पूरै खाली भएको र त्यसलाई कसैले बेचिदिएको घटना भएको छ ।
रेभरेन्ड माइक हाललाई छिमेकीहरूले यसको बारेमा बताएपछि उनी हतारहतार लुटन शहरमा रहेको घर पुगे । त्यहाँ पुग्दा उनको घरमा मर्मतको काम चलिरहेको थियो अनि एक व्यक्तिले त्यो घर आफ्नो भएको दाबी गरिरहेको थियो ।
यो आइडेन्टिटी थेफ्टको केस रहेछ । माइक हलको पहिचान नै कसैले चोरेर घर बेचेछ अनि बेचेर आएको रकम लिएर भागेछ ।
माइक नर्थ वेल्समा काम गर्न बस्छन् । अगस्ट २० मा उनका छिमेकीहरूले फोन गरेर घरमा कोही आएको र बत्ती बलेको बताए ।
उनले बीबीसी रेडियो ४ को एक कार्यक्रममा बताए, ‘मैले ढोका खोल्ने प्रयास गरें तर त्यो खुलेन । पछि एकजनाले ढोका खोल्यो । मैले उसलाई धकेलेर भित्र पसें । भित्र हेर्दा फर्निचर, कार्पेछ, पर्दा केही पनि थिएन ।’
ती व्यक्तिले आफू बिल्डर भएको र मर्मतको काम गरिरहेको बताए । माइकल हलले उसलाई घर बेचेकै छैन भने ।
त्यसपछि उनले प्रहरीलाई फोन गरे । बिल्डरले नयाँ घरमालिकका पितालाई लिएर आयो अनि उनले जुलाई महिनामा घर किनेको बताए ।
पछि रजिस्ट्रीको अनलाइन रेकर्ड हेर्दा अगस्ट ४ मा अरू कसैको नाम पाइयो ।
प्रहरीले अब केही गर्न नसकिने भनी वकिलकोमा जान भन्यो ।
बीबीसीले त्यसपछि माइक हाललाई बेडफोर्डहायर प्रहरीसँग सम्पर्क गर्न लगायो । प्रहरीले अनुसन्धान थालेको छ । तर कसैलाई पक्राउ गरेको छैन ।
माइक हालको पहिचान चोर्ने व्यक्तिको सवारी चालक अनुमतिपत्र बरामद गरिएको छ । घर बेचेर आएको पैसा डिपोजिट गरिएको बैंक खाताको विवरण पनि आएको छ र घर चोरी सम्बन्धी फोन रेकर्डिङ पनि हासिल गरिएको छ ।