
हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र डेढ महिनादेखि अन्धकारमय बनेको छ ।
सिमकोट र खार्पुनाथ गाउँपाालिकालाई सेवा दिँदै आएको हिल्दुम वितरण केन्द्र र यहाँको उपभोक्ता समितिको लापरबाहीले सदरमुकाम सिमकोटसहित २ गाउँपालिकाका सेवाग्राहीले अन्धकारमा बस्नुपर्ने बाध्यता छ ।
गत भदौ अन्तिम महिनादेखि अवरुद्ध बनेको विद्युत् समयमै मर्मत नहुँदा २ हजार ३०० भन्दा बढी सेवाग्राहीले समस्या भोग्नु परेको हो । पावर हाउस नजिकै रहेको ओभरफ्लो तथा विद्युत् गृहको फर्बेमा बाढीपहिरोले क्षति पुर्याएकाले विद्युत् सेवा झण्डै २ महिनादेखि बन्द छ ।
विद्युत् गृहको फर्बेमा केही मात्रामा मर्मत गरिए पनि पहिराले ढाकेको भाग पूरै मर्मत हुन सकेको छैन । पहिराले ढाकेको भाग मर्मत गर्न अझै समय लाग्ने भएको नेपाल विद्युत् प्राधिकरण हेल्दुम वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए ।
उनले भने, ‘पूरै भाग मर्मतका लागि बजेट र सामग्रीको अभाव छ, अहिले केही मात्रामा मर्मत गरेर अस्थायी रूपमा विद्युत् सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।’
पहिरोले ढाकेकोे क्यानलसहित अन्य भाग मर्मत गर्न धेरै खर्च लाग्नाका साथै मर्मतमा बढी समय लाग्ने उनले बताए । पहिरोले क्षति पुर्याएको फर्बेमा झण्डै ३६५ थान ग्याबिन आवश्यक पर्ने देखिएको प्रमुख ऐडीले बताए ।