
सार्कका महासचिव इसला विराकुनले बौद्ध दर्शनले सार्कका मुलुकहरूलाई एकआपसमा जोड्ने काम गरेको बताएका छन् ।
सार्कमा रहेकामध्ये २ वटा मात्रै बौद्ध राष्ट्र भए पनि अन्य मुलुकमा पनि बुद्धिष्ट र बौद्ध संस्कृति उत्तिकै महत्त्वपूर्ण रहेको उनले बताए ।
मंगलवार लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै महासचिव विराकुनले नेपालबाट शान्तिको सन्देश विश्वभर फैलिरहेको बताए । बुद्धका सन्देशले सार्क मात्रै नभई विश्वलाई नै शान्ति र करुणामय राख्ने विश्वास उनले विश्वास गरे ।
लुम्बिनी बौद्ध विश्वविद्याललाई सार्कका अन्य मुलुकका विश्वविद्यालयका शैक्षिक कार्यक्रमसँग जोड्नका लागि आफूले सहयोग गर्ने उनले बताए । ‘सार्कका मुलुकहरूबीच सामाजिक र सांस्कृतिक सम्बन्ध विस्तार गर्नुपर्छ, बुद्ध दर्शन त्यो महत्त्वपूर्ण पाटो हो,’ उनले भने । विद्यार्थीहरूलाई एकअर्का मुलुकमा अध्ययन गर्न पठाएर सार्कबीचको बलियो सम्बन्ध कायम हुन सक्ने उनले बताए ।
सो अवसरमा बोल्दै विश्वविद्यालयका उपकूलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले विश्वविद्यालयले सार्कमार्फत अन्य देशसँग प्राज्ञिक उन्नयनमा सहकार्य गर्न खोजिरहेको बताए । उनले महासचिवलाई समन्वयका लागि आग्रह समेत गरे ।
विश्वविद्यालयले विदेश विद्यार्थीलाई अध्यापन गराइरहेको र त्यसमा सार्क मुलुकका विद्यार्थीलाई लुम्बिनीमा ल्याई बौद्ध दर्शनको पठनपाठन गर्नका लागि सार्क सचिवालयबाट पहल गरिदिन आग्रह गरे । १० वर्षे रणनीति बनाइरहेको विश्वविद्यालयलाई आवश्यक सुझाव दिन समेत महासचिवलाई उनले अनुरोध गरे । विश्वविद्यालयले श्रीलंका र भारतका केही विश्वविद्यालयसँग सहकार्य गरिरहेको जानकारी दिँदै उनले अन्य देशमा पनि सहकार्यलाई अघि बढाइने बताए ।
सो अवसरमा विश्वविद्यालयका डीनहरू डा. माणिकरत्न शाक्य, प्रा.डा. रामचन्द्र पौडेल, प्राध्यापक डा. संकिच्च महास्थविरले लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन अध्ययन र अनुसन्धान तथा बौद्ध स्थलको उत्खनन् सम्बन्धी गरेका प्राज्ञिक गतिविधिबारे जानकारी गराएका थिए ।
सार्क महासचिव विराकुन नेतृत्वमा आएको टोलीमा उनकी पत्नी एवं श्रीलंकन राष्ट्रपतिको विदेश विभाग पूर्व निर्देशक क्रिशान्ति विराकुन, श्रीलंकन महाविहारका इन्चार्ज पन्नसरा थेरो, यूएनडीपी लुम्बिनी कार्यालय प्रमुख सुदीप अर्याल, पर्यटन व्यवसायी कृष्ण अधिकारी लगायत सहभागी थिए ।
टोलीले लुम्बिनी बौद्ध विश्वविद्यालय परिसरको बौद्ध स्तुपा, केन्द्रीय क्याम्पसको अवलोकन गरेको थियो ।