३१ असार २०८३, बुधबार

प्रदेश १ का मुख्यमन्त्रीको जीवनी: पञ्चायतकालमा जेलदेखि समाजवादीको सचिवसम्म

कात्तिक १६, २०७८
प्रदेश १ का मुख्यमन्त्रीको जीवनी: पञ्चायतकालमा जेलदेखि समाजवादीको सचिवसम्म

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्रकुमार राई बुवा नरेन्द्रबहादुर राई र आमा धनकुमारी राईको कोखबाट २०२७ साल असार १५ गते भोजपुर जिल्लाको किमलुङ गाविसमा जन्मेका थिए । 

४ सन्तानमध्ये उनी कान्छा हुन् । उनका दुई दाजुभाइ र एक दिदी छन् । भोजपुर जिल्लाको साविकको किमलुङ गाविस हाल षडानन्द नगरपालिका वडा नम्बर १० का स्थायी बासिन्दा रहेका राई विद्यार्थी राजनीतिबाट राजनीतिमा उदाएका हुन् । प्रारम्भिक कमिटीको सचिवबाट आफ्नो राजनीतिक यात्रा तय गरेका राईले २० वर्षसम्म अनेरास्वियुको विभिन्न कमिटीमा रहेर काम गरे । 

रत्न राज्यलक्ष्मी क्याम्पस काठमाडौंको प्रारम्भिक कमिटी सदस्य, उपाध्यक्ष, संयोजक, काठमाडौं जिल्ला कमिटी सदस्य, बागमती अञ्चल कमिटी सदस्य, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय प्रचार विभाग प्रमुख, केन्द्रीय महासचिव हुँदै राई २ पटक अनेरास्वियुको केन्द्रीय अध्यक्ष समेत बने । 

२०५७ देखि २०५९ र २०५९ देखि २०६१ सम्म उनले अनेरास्वियुको नेतृत्व गरेका थिए । अनेरास्ववियुको नेतृत्वमा रहँदा उनले स्ववियु चुनावमा आफ्नो संगठनलाई सबैभन्दा बढी क्याम्पसमा जिताएका थिए ।

पञ्चायतकालमा ७ महिना केन्द्रीय कारागारमा जेल जीवन बिताएका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशको शासन सत्ता आफ्नो हातमा लिएका बेला उनलाई ४ महिना महाराजगञ्जमा बन्दी बनाइएको थियो । विभिन्न आन्दोलनमा दर्जनौंपटक उनी पक्राउ परेका थिए । २०६० सालमा तत्कालीन विद्रोही माओवादीले उनलाई घर बाट नै अपहरण गरेको थियो ।

अर्थशास्त्र र अंग्रेजी साहित्यमा एमएसम्म पढेका राईले पार्टीकै कार्यकर्तासँग विवाह गरेका थिए ।

२०६० सालमा उनको विवाह शोभा पाठकसँग भएको थियो ।

रत्न राज्यलक्ष्मी क्याम्पस कमिटीमा राई संयोजक रहेका थिए भने पाठक सह–सचिव थिइन् ।

पत्रकारितामा स्नातकसम्म अध्ययन गरेकी पाठकले काठमाडौंको छाउनीमा मन्टेश्वरी विद्यालय सञ्चालन गर्दै आएकी छिन् ।

राई दम्पतीका सन्तान भने छैनन् ।

अर्थशास्त्र र अंग्रेजी साहित्यमा एमएसम्मको अध्ययन गरेका राईले त्यो भन्दा माथि अध्ययन गर्न भने सकेनन् । उनले पोर्चुगल, डेनमार्क, स्पेन, बेल्जियम, स्विडेन, अल्जेरिया, भारत लागयतका देशको भ्रमण गरिसकेका छन् ।  

विचारको खेती र आयु नामक विद्यार्थी आन्दोलनसम्बन्धी पुस्तक समेत प्रकाशित गरेका राई शिक्षाको अँध्यारो नामक अर्को पुस्तक प्रकाशन गर्ने तयारीमा छन् ।

भोजपुरबाट प्रदेश सभामा निर्वाचित राई पहिलोपटक जनप्रतिनिधि भएका हुन् । 

लामो समय पूर्णकालीन राजनीति गरेका राई प्रदेश १ को तेस्रो मुख्यमन्त्री बनेका छन् ।

तत्कालीन एमालेमा रहँदा माधव नेपालका विश्वास पात्र मानिएका राईलाई पार्टीले प्रतिनिधि सभामा टिकट दिएको थिएन ।

आफूभन्दा जुनियर नेताले पटक–पटक टिकट पाउँदा पनि उनी राजनीतिमा खटि नै रहे । आफूभन्दा जुनियर नेताले मुख्यमन्त्री बनेर समेत उनलाई पछि पारे ।

माधव नेपाल प्रधानमन्त्री भएको समयमा राईले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार तथा वरिष्ठ विज्ञको जिम्मेवारी प्राप्त गरेका थिए । 

नेकपा एकीकृत समाजवादीमा राई केन्द्रीय सचिवको भूमिकामा छन् ।

एमालेको आठौं केन्द्रीय सदस्यमा मनोनयन भएका राई नवौं महाधिवेशनमा निर्वाचित भएका थिए ।

नेकपा एमाले र माओवादी एकीकरणपछि बनेको नेकपामा समेत उनी केन्द्रीय कमिटी सदस्य थिए ।

salt training

कमेन्ट गर्नुहोस्