२६ असार २०८३, शुक्रबार

१ नम्बर प्रदेशका मन्त्रीमा १ बाहेक सबै नयाँ अनुहार

कात्तिक १६, २०७८
१ नम्बर प्रदेशका मन्त्रीमा १ बाहेक सबै नयाँ अनुहार

१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले ६ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् ।

५ दलीय गठबन्धनबाट मुख्यमन्त्री बनेका राईले आफ्नो दल नेकपा एकीकृत समाजवादीबाट मंगलवार मन्त्री बनाएनन् । 

पहिलोपटक जनप्रतिनिधि भएका राईले विस्तार गरेको मन्त्रिमण्डलमा एक पुराना अनुहार परेका छन् भने अरु सबै नयाँ अनुहार छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोबाहेक  सबै नयाँ अनुहार हुन् । नेकपाको सरकार हुँदा पनि आङ्बोले योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

आङ्बोले झण्डै ३ वर्ष आर्थिक मामिला तथा योजनामन्त्रीको रूपमा भूमिका निर्वाह गरेका थिए । नेकपा विवाद उत्कर्षमा पुगेपछि उनलाई पूर्व मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेका थिए । 

गठबन्धन बैठकमा उनले आर्थिक मामिला तथा योजनामन्त्री दिए मात्रै मन्त्री बन्ने बताएका थिए । कांग्रेसले योजना मन्त्रालय आफूले पाउने अडान राखेपछि आङ्बोले मुख्यमन्त्रीलाई प्रयोग गरेर १ जना पुराना मन्त्री चाहिन्छन् भन्न लगाएका स्रोतले जनाएको छ ।

कांग्रेसबाट हिमाल कार्कीलाई मात्रै मन्त्री बनाउन प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले निर्देशन दिएका थिए तर डा. शेखर कोइरालाको प्रभाव क्षेत्र मानिएको १ नम्बर प्रदेशबाट देउवालाई चुनौती दिँदै अर्का मन्त्री पनि थपिएका छन् ।

देउवा निकट मानिएका भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्की र कोइराला निकट आन्तरिक मामिला तथा कानून मन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । हिमाल संसदीय दलका उपनेता हुन् भने केदार प्रमुख सचेतक हुन् । सरकारमा दुवै जना नयाँ अनुहार हुन् ।

कात्तिक ७ गते नै निवर्तमान मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने बताइए पनि देउवाले हिमाललाई मात्रै पहिलो चरणमा मन्त्री बनाउन संसदीय दलका नेतालाई निर्देशन दिएपछि शेखर कोइरालाको निर्देशन मानेर केदारले प्रदेशसभा बैठक रोक्न माग गरेका थिए । 

सामाजिक विकास मन्त्रीमा नियुक्त जयराम यादव जनता समाजवादी पार्टी (जसपा) नेपाल १ नम्बर प्रदेश संसदीय दलका नेता हुन् । उनी पहिलो संविधानसभा सदस्य समेत हुन् । मन्त्रीमा उनी पनि नयाँ अनुहार नै हुन् ।

एक्लै सांसद पनि मन्त्री !

संयुक्त लोकतान्त्रिक मञ्चकी एक्ली सांसद विष्णुमाया तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री बनेकी छन् । उनी समानुपातिक सांसद हुन् । उनले राज्यमन्त्री नमान्ने अडान राख्दै आएकी थिइन् । गठबन्धन दलले पछि मन्त्रालय हेरफेर गर्नसक्ने आश्वासन दिएपछि उनी राज्यमन्त्री बनेकी हुन् । 

salt training

कमेन्ट गर्नुहोस्