
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन खानी विभाग चोक र टुकुचामा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ ।
ट्राफिक प्रहरी महाशाखाले एनसेलसँग समन्वय गरी खानी बिभाग र काठमाडौं महानगरपालिका वडा नं १ को सहयोगमा टुकुचामा नयाँ ट्राफिक लाइट जडान गरि संचालनमा ल्याएको हो ।
खानी बिभाग चोकमा जडान गरेको ट्राफिक लाइट महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई र एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले स्वीच अन गरी संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले उपत्यकाको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिदै आएको बताए।
“हामी ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने अभियानमा छौ, यसको लागी विभिन्न निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै आइरहेका छौं । आज जडान भएका लाइट त्यसैको परिणाम भएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाइट राख्न हातेमालो गर्ने योजना समेत रहेको छ,' भट्टराईले भने:- 'प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरूको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्रमुख प्राथमिकता दिएको छ ।'
कार्यक्रममा बोल्दै एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले एनसेलको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्या, ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भूमिका खेल्ने बताए ।
पछिल्लो समय ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिदै ट्राफिक लाइट जडानमा खेलेको भुमिकाको प्रशंसा गर्दै आगामी दिनमा अन्य स्थानहरुमा ट्राफिक लाइट जडान र अन्य कार्यहरुमा सहकार्य एव सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा एनसेलका प्रशासन प्रबन्धक नारायण दाहाल, सिएसआर प्रमुख बिशाखा राज्यलक्ष्मी खड्का, ट्राफिक प्रहरी अधिकृतहरु, अन्य पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरि टुकुचाको ट्राफिक लाइट उद्घाटन गर्दै कामनपा वडा नं १ का वडा सदस्य अशोक कुमार श्रेष्ठले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनलाई सबै तहबाट सहकार्य एव सहयोग हुनुपर्नेमा जोड दिए।
स्थानीय तहले आफ्नो क्षेत्रमा सहज यातायात र दुर्घटना न्युनिकरणमा ध्यान दिनुपर्ने बताए।
श्रेष्ठले पछिल्लो समय महाशाखाले प्रविधिलाई जोड दिदै ट्राफिक लाइट जडानमा खेलेको भुमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग अझै सहकार्य गर्दै जाने बताउनुभयो ।
हाल उपत्यकाको मुख्य ३८ चोकहरुमा ट्राफिक लाइटबाट सवारी ब्यवस्थापन हुँदै आएको छ ।
ट्राफिक लाइट सञ्चालनमा आएका चोकहरुमा ट्राफिक लाइटको पूर्ण पालना गरिदिनु हुन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।