
अछामको साँफेदेखि बाजुराको मार्तडी जोड्ने सडक सञ्चालनमा आएको छ ।
असोजको दोस्रो हप्तामा केही दिन सामान्य सञ्चालनमा आए पनि असोज ३१ देखि कात्तिक २ गतेसम्म लगातार परेको अविरल वर्षाले साँफे–मार्तडी सडक अन्तर्गतको बल्देमा पहिरो गएपछि साँफे–मार्तडी सडक २ हप्तासम्म अवरुद्ध भएको थियो ।
सवारीसाधन मार्तडी नपुग्दा जिल्लाका व्यापारीलाई सामान ढुवानी साथै यात्रु आवागमन गर्न समस्या थियो । सामान ढुवानी गर्न असहज भएपछि उपभोक्ताले चर्को मूल्यमा दैनिक उपभोग्यका सामान खरिद गर्दा महंगीको मार खेप्नु परेको स्थानीयको भनाइ छ ।
सडक डिभिजन कार्यालय साँफेबगर अछामले मर्मत गरेपछि आंशिक रुपमा सडक सञ्चालन भएको छ । सडक पूरै क्षति भएकाले अहिले हलुका सवारीसाधन जीप तथा ट्रयाक्टर मात्र सञ्चालन हुने गरी बाटो खुलाइएको सडक डिभिजन कार्यालय अछामका प्राविधिक गोकुल गिरीले जानकारी दिए ।
गिरीका अनुसार सडक तलमाथि पानीका मुहानहरू नसुकेका कारण सडकमा पर्ने प्रभावले ठूला सवारीसाधन बस, ट्रकहरू सञ्चालन गर्न अझै केही दिन लाग्ने भएको छ ।
गत जेठ २३ गते आएको अविरल वर्षाका कारण ५ महिना पूर्णरूपमा बन्द भएको साँफे–मार्तडी सडकखण्ड असोजमा सामान्य मर्मतपछि केही दिन सञ्चालन भए पनि फेरि कात्तिक पहिलो हप्ताबाट पूर्णरूपमा बन्द भएको थियो । वर्षाले अम्कोट बल्दे क्षेत्रको १ किलोमिटरभन्दा बढी सडक पूर्णरुपमा तहसनहस पारेपछि अहिले लामो दूरीका ठूला सवारीसाधन अझै बल्देमा रोकिएका छन् ।
बाजुरामा सञ्चालनमा रहेका स्थानीय सडकको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको नेतृत्वमा गएको जिल्लास्थित सरोकारवालाको टोलीले पनि सो क्षेत्रको सडकको अनुगमन गरेको छ । सो टोलीले तत्कालका लागि त्यसै ठाउँमा मर्मत गरेर बाटो खोल्ने काम गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।