३० जेठ २०८३, शनिबार
एमाले महाधिवेशन

माधव नेपालको पार्टी अवैध गर्भधारणबाट जन्मिएको भन्दै योगेशले भने– 'महाधिवेशनमा बोलाउँदैनौं'

कात्तिक १७, २०७८
माधव नेपालको पार्टी अवैध गर्भधारणबाट जन्मिएको भन्दै योगेशले भने– 'महाधिवेशनमा बोलाउँदैनौं'
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी)लाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन् ।

बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एकीकृत समाजवादीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका हुन् ।

उनले चितवनमा हुने पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई मात्र बोलाउने बताउँदै अवैध सम्बन्ध र अवैध गर्भधारणबाट जन्मिएको एकीकृत समाजवादीलाई बोलाइरहनु नपर्ने बताए ।

उनले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई पहिचान र ठेगाना नभएको टिप्पणी गरे ।

प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई निमन्त्रण दिने कुरामा एकीकृत समाजवादीको पनि पत्रकार साथीले नाम लिनुभयो । प्रमुख राजनीतिक दलहरूलाई हामीले निमन्त्रणा गर्ने हो, कतिपय राजनीतिक दलको पहिचान र ठेगाना नै स्पष्ट छैन । अवैध सम्बन्ध, अवैध गर्भधारणबाट बनेका पार्टीहरू छन् ।

 त्यस्ता पार्टीलाई महाधिवेशनमा बोलाइरहनुपर्छ जस्तो लाग्दैन । पहिचान र ठेगाना स्पष्ट भएका प्रमुख राजनीतिक दलहरूलाई यो महाधिवेशनमा आमन्त्रण गरिनेछ ।’

प्रचार विभाग प्रमुख भट्टराईले गठबन्धन सरकारका कारण मुलुकमा संविधान मिचिएको र संवैधानिक अंगहरूमाथि हस्तक्षेप भएको बताए । उनले गठबन्धन सरकारले संवैधानिक अंगहरूमा स्वेच्छाचारिताको गम्भीर प्रश्न उठेको बताउँदै शक्तिहरूको स्वार्थमा देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप लगाए ।

प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘आज मुलुकमा राजनीतिक अनिश्चयको स्थिति पैदा भएको छ । संविधान मिचिँदै छ । संवैधानिक अंगहरूमाथि कार्यपालिकाको हस्तक्षेप छ । संवैधानिक अंगहरूमा स्वेच्छाचारी प्रक्रियामार्फत् गम्भीर प्रश्न उठ्न थालेको छ । देशलाई यसरी अन्योल माहोलमा राख्नुहुँदैन । अलोकतान्त्रिक, स्वेच्छाचारी, असंसदीय ढंगबाट राजनीतिक अस्थिरतातिर मुलुकलाई धकेल्ने प्रयत्न भइरहेको छ, शक्तिहरूको स्वार्थमा ।’

प्रचार विभाग प्रमुख भट्टराईले १० औं राष्ट्रिय महाधिवेशन ऐतिहासिक र भव्य हुने बताउँदै उक्त महाधिवेशनमा विधान महाधिवेशन भएको दुई महिनामा भएका ठूला राजनीतिक घटनाहरूको बारेमा पनि पार्टीले स्पष्ट धारणा राख्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्